२० वर्षपछि गर्भपतन मुद्‍दाका फरार पक्राउ



न्युज अफ नेपाल, विराटनगर ।

गर्भपतन मुद्‍दामा अदालतले कैद सजायको फैसला सुनाएको २० वर्षपछि मोरङ कानेपोखरीका एक व्यक्ति पक्राउ परेका छन् । मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले बिहीबार राती ४५ वर्षीय मुरलीप्रसाद ठाकुरलाई पक्राउ गरेको हो ।

मोरङको साविकको वयरवन गाविस १ र हालको कानेपोखरी गाउँपालिका ३ घर भएका ठाकुर आफूविरुद्ध मुद्दा चल्ने पक्‍का भएपछि २०५६ सालबाट फरार थिए । घरगाउँबाट फरार भएपछि उनी एक छोरा र श्रीमतीसहित सुनसरीको बर्जु गाउँपालिका ६ चिमडीमा बसोबास गर्दै आएका थिए ।

ठाकुरलाई जिल्ला अदालत मोरङले २०५६ साल चैत २० गते दुई वर्ष कैद सजायको फैसला सुनाएको थियो । मोरङको चिमडीबाटै पक्राउ गरेर ल्याएर प्रहरीले शुक्रबार अदालतमा बुझाएको छ ।

ठाकुरलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी युवराज पौडेलले बताए । प्रहरीकाअनुसार ठाकुरले ग्रामीण स्वास्थ्य कार्यकर्ताको प्रमाणपत्र लिएको पाइएको छ ।

त्यही प्रमाणपत्रको आडमा १० कक्षा मात्रै पढेका उनले मोरङको हरकपुरमा अवैध क्लिनिक सञ्चालन गरेका थिए । उक्त क्लिनिकमा अवैधरुपमा गर्भपतन गराउने काम पनि हुने गरेको पाइएको डीएसपी गिरीको भनाइ छ ।

झुक्याएर औषधि खुवाउँदै एक विवाहित युवतीको गर्भपतन गराएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्धा चलाइएको थियो । भागेर सुनसरी पुगेका उनी त्यहाँ इँटाको व्यापार गरेर बस्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्