पर्यटनभन्दा स्वास्थ्य पहिला



नेपाल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गरे पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा पर्यटक आउने वातावरण बन्न सकेन । नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरे पनि पूर्वतयारीसमेत राम्रो नभएको पर्यटन व्यवसायीले गुनासो गरिरहेको अवस्थामा कोरोना भाइरस एक प्रकारको महामारी लिएर आयो । चीनको हुवे प्रान्तबाट शुरू भएको कोरोना भाइरसले विश्वका ३७ मुलुकमा आफ्नो उपस्थिति देखाइसकेको त छ नै, त्योभन्दा पनि चीनको छिमेकी भएको र त्यहींबाट बढी पर्यटक आउने आशमा बसेको नेपालका लागि कोरोना भाइरस दुखद् समाचार बनेर आयो ।
नेपाल सरकारले मुलुक कोरोना भाइरसमुक्त रहेको प्रचार गर्दै आए पनि रोगको विश्वव्यापी दुन्दुभीभित्र उसको आवाज मण्डुक ध्वनि हुन पुगेको छ । पर्यटन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय नगरी ‘कोरोना भाइरसमुक्त मुलुक’ का रूपमा आफूलाई चित्रित गरेको छ । नेपाल छिमेकीहरूको तुलनामा निकै सानो मुलुक भएको र कोरोनाजस्तो भाइरस भित्रिएमा उपचार, सुरक्षा, क्वारेन्टाइनलगायतको व्यवस्थापन त्यति सजिलो नभएको भन्दै स्वास्थ्य मन्त्रालयले प्रतिक्रिया जनाएको छ । सरकार भने पर्यटन वर्षका नाममा नेपाल भित्रिने पर्यटकलाई सेवासुविधा दिनु र सुरक्षित महशुस गर्ने वातावरण सृजना गर्नुको साटो उल्टै विगत वर्षमा भन्दा पर्यटन वर्षमा नेपाल भित्रने पर्यटकसँग भिसा शुल्कमा दोब्बरले बृद्धि गरी कमाउने बेला यही हो भन्दै छ ।
नेपालको एउटै मात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रने पर्यटकले नेपाल भित्रँदा एयरपोर्टमै फर्म भर्न, भिसा लिन तीन घण्टाभन्दा बढी बिताउनुपर्ने बाध्यता कायमै छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनमा फैलिरहेको नोबेल कोरोना भाइरस अन्य मुलुकमा पनि फैलिएसँगै नयाँ न्वारान गर्दै भाइरसको नाम ‘कोभिड–१९’ राख्नुबाहेक केही गर्न सकेको छैन । कोभिड–१९ ‘कोरोना भाइरस डिजिज २०१९’ को संक्षेपीकृत रूप हो, जहाँ ‘को’ले कोरोना, ‘भी’ले भाइरस, ‘डी’ले डिजिज, ‘१९’ ले २०१९ बुझाउँछ । यस भाइरसका कारण चीनमा मात्र दुई हजार सात सय को मृत्यु भइसकेको छ भने झण्डै ८० हजारको हाराहारीमा संक्रमित भैसकेका छन् । यस अवस्थामा नेपाल सरकारले भने नेपालमा एक जनामा मात्र कोरोना भाइरस भेटिएको र त्यो पनि निको भैसक्यो भनेको छ । सरकारसँग यस भनाइलाई पुष्टि गर्ने पर्याप्त आधार भने देखिएको छैन ।
अतः नेपालको यस दाबीलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गरेको छैन । नेपालमा यदि कोरोना भाइरसका बिरामी भैहाले भने ल्याबको अभाव, दक्ष जनशक्तिको अभाव, स्वास्थ्य संस्था भरपर्दो नभएको र औषधि त विश्वकै खोजीको विषय भएको अवस्थामा हामी निरपेक्ष ढंगले पर्यटक बोलाउन सक्तैनौं । पर्यटन वर्ष सफल बनाउने नाममा जथाभावी पर्यटकलाई निमन्त्रणा दिनु गलत हुन जान्छ । त्यसमाथि चिनियाँ नागरिकलाई नै नेपाल भित्याउन सरकार तयार देखिन्छ । यति छिटै यस्तो दुस्साहसी निर्णय लिनु कसैका लागि पनि हितमा छैन । पर्यटक नआउँदैमा हामी मर्दैनौं, तर कोरोना आयो भने हामीलाई बाँच्न निकै मुस्किल हुन्छ ।

प्रतिक्रिया दिनुहोस्