नागरिक सन्तुष्टि सर्वेक्षण सार्वजनिक



कालिकोट, (नेस)
जिल्लाको शुभकालिका गाउँपालिकामा नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन बुधबार सार्वजनिक गरिएको छ।
हेल्भेटास नेपालको सहयोगमा सक्रिय जनता जवाफदेही गाउँपालिका-नगरपालिका (सजग) अभियानअन्तर्गत पत्रकार कालीबहादुर मल्ल, नमराज योगीको सहजीकरणमा सार्वजनिक खर्च तथा वार्षिक बजेट सोधखोज र नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रम राखिएको थियो।
शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाँईंको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधि, गाउँपालिकाका कर्मचारी, कार्यपालिका सदस्य, वडाध्यक्ष, पत्रकार नागरिक समाजका प्रतिनिधि, विभिन्न सञ्जालका प्रमुखलगायतको सहभागिता रहेको थियो।
नतिजा सार्वजनीकीकरण कार्यक्रममा आव २०७५/२०७६ को सार्वजनिक खर्च सोधखोज, ०७६/०७७ को वार्षिक बजेट विश्लेशण गरिएको छ। यस्तै, स्थानीय तहमा ५० जनाको वहिर्गमन अभिमत,२० जना लक्षित वर्ग र ५० जना अन्य गरी ७० जनाको नागरिक प्रतिवेदन पत्रको नतिजा सार्वजनिक गरिएको छ। स्थानीय तहका कर्मचारी धेरै वडाध्यक्षहरू कार्यालयमा नबस्ने, गुणस्तरीय सेवा दिन नसेकेको, योजना जाँचपास गर्दा रकम नदिए अप्ठ्यारो पार्ने गरेको नागरिकहरूको गुनासो पाइएको हो।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चौलागाँईंले नागरिक सन्तुष्टि सर्वेक्षण प्रतिवेदनले समृद्ध र सुशासनमैत्री गाउँपालका बनाउने अभियानलाई सहयोग पुगेको बताउनुभयो। साथै, उहाँले अबका दिनमा प्रतिवेदनको सुझावअनुसार लक्षित बजेट पर्याप्त मात्रमा छुटाउनु, गाउँपालिकाका योजनाहरूलाई कडाइका साथ अनुगमन गर्ने प्रतिबद्धता जनाउनुभयो।
सजग कार्यक्रमअन्तर्गत एक महिना लगाएर गरिएको सर्वेक्षण प्रतिवेदन माघ १५ गते रास्कोट नगरपालिकाको पनि नतिजा सार्वजनिक गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्