बाँझकटेरीमा प्याराग्लाइडिङको सफल परीक्षण



अनिल खत्री, गुल्मी ।
गुल्मीको मदाने गाउँपालिका २ बाँझकटेरीको कसुरे डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ। स्काई बर्ड प्याराग्लाइडिङ पोखराको टोलीले बुधबार तीन वटा प्याराग्लाइडिङ उडाएका थिए।
पू्र्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले प्याराग्लाइडिङ चालकहरुलाई फूलमाला लगाएर सफलताको शुभकामना दिनुभएको थियो। मदाने गाउँपालिकाले होलबाङ प्याराग्लाइडिङ सम्भाव्यता अध्ययनका लागि आर्थिक वर्ष ०७६/०७७ मा २ लाख रुपियाँ बिनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिनुभयो।कसुरेडाँडा समुद्री सतहबाट २१ सय ५० मिटरको उचाइमा रहेको छ। बाँझकटेरीको कसुरे डाँडा प्याराग्लाइडिङको हिसाबले अत्यन्तै राम्रो रहेको स्काई बर्ड प्याराग्लाइडिङ पोखराका प्रमुख तथा चालक भुवन गाहाले बताउनुभयो।
उहाँले पोखराको सराङकोट पनि १४ सय ५० मिटरको उचाईमा मात्रै भएका लामो र छोटो दुरीको प्याराग्लाइडिङका लागि कसुरेडाँडा अत्यन्तै महत्वपूर्ण भएको बताउनुभयो। लामो दुरीका लागि खर्च बढी लाग्ने भएकाले तत्कालै छोटो दुरीको प्याराग्लाइडिङ गर्न सकिने गाहाले बताउनुभयो।
उहाँले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका कारण प्याराग्लाइडिङ विस्तापित हुने अवस्था रहेकाले भविष्य गुल्मीलाई प्याराग्लाइडिङको हबको रूपमा विकास गर्न सकिने बताउनुभयो। पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नं २ का सांसद गोकर्ण विष्टले विकटलाई निकट बनाउने यो सम्भावना मर्न नदिने बताउनुभयो।
परीक्षणका क्रममा बुधबार कसुरे पुगेका विष्टले नियमित प्याराग्लाइडिङका लागि आवश्यक भौतिक संरचना निर्माण र अन्य आवश्यक सहयोग गर्न आफू तयार रहेको विष्टले बताउनुभयो। उहाँले अग्लुबाट कसुरे हुदै सिमलटारीसम्म पुग्ने सडकको स्तरवृद्धिसंगै कालोपत्रेको काम अगाडि बढेकाले कसुरेको प्याराग्लाइडिङलाई थप टेवा पुग्ने बताउनुभयो।
उहाँले गाउँको माया मारेर मधेश झरेकाहरु पैसा तिरेर प्याराग्लाइडिङ गर्न आउने वातावरण सृजना गर्न आफूले कुनै विकल्प बाँकी नराख्ने बताए।
मदाने गाउँपालिका प्रमुख दानबहादुर केसीले सडक निर्माणसँगै होलबाङमा होमस्टे निर्माण गर्न गाउँपालिकाले योजना बनाउने बताउनुभयो। उहाँले व्यावसायी रूपमा प्याराग्लाइडिङ अगाडि बढाउने विषयमा आफूहरु सक्रिय रूपमा लाग्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्