श्रीस्वस्थानी व्रतकथाको सन्देश



दीपक खनाल
भाैतिकवादी वा नास्तिकहरूले श्रीस्वस्थानी व्रतकथालाई परम्परागत धार्मिक ग्रन्थ मात्र ठाने पनि यसका अनेक सन्देश छन्।
आध्यात्मिक दर्शन/साहित्य
‘नेस ६९३ मा संस्कृत भाषामा लेखिएको हस्तलिखित स्वस्थानी (प्राडा वीणा पौडेल, श्रीस्वस्थानी व्रतकथा)’ तत्कालीन युगको एउटा सुन्दर आध्यात्मिक साहित्य हो। सारमा यो साधनाको दर्शन हो। योगगुरु स्वामी डा. विकासानन्दका विचारमा ‘स्व’को अर्थ आफू र ‘स्थान’को अर्थ ठाउँ हो। त्यसैले श्रीस्वस्थानीले ‘साधनाको माध्यमबाट प्रत्येक मानिसले आफूलाई स्वस्थान (अनुशासन)मा ल्याउन सक्नुपर्छ’ भन्ने सन्देश दिन खोजेको छ।
सृष्टि–सन्देश
अध्यात्म धर्मभन्दा निकै माथि छ। धर्म नैतिकताका लागि अपनाइयो तर पछिल्लो चरणमा यो राजनीति गर्ने र विश्व मानवतालाई छियाछिया पार्ने विधा बनाइएको छ। वर्तमानकै सांसारिक खुला किताबको अध्ययन गरेर यो कुरा राम्ररी बुझ्न सकिन्छ। अध्यात्मले परमआत्मा अर्थात् परमात्मालाई मान्दछ। याने यो सृष्टिको रचना परमात्माबाट भएको हो। सृष्टि रचनाको आध्यात्मिक इतिवृत्तान्त हो।
कुमारजीले अगस्त्य मुनिलाई संसारको सृष्टिको कथा सुनाएका छन्। आध्यात्मिक दर्शन भएकाले ब्र≈मा, विष्णु, महेश्वरलाई उभ्याइएको छ। भौतिकवादीहरू इलेक्ट्रोन (नकारात्मक तत्व), प्रोटोन (सकारात्मक तत्व) र न्युट्रोन (तटस्थ तत्व)बाट विश्वब्र≈माण्ड बनेको भन्दछन्। वैज्ञानिक मत पनि यही हो। यस्तै अध्यात्म दर्शनले परमशिवको इच्छा र शक्तिमा यो संसार सृष्टि भएको उल्लेख गरेको छ कुमारजीको मुखबाट।
पारिवारिक प्रेम/विवाह
हो गोमाका सन्दर्भमा लेखिएका कतिपय शब्द नारीविरोधी देखिन्छन्। तर महादेवले प्रेमले पागल हुँदै हाय⁄ सतिदेवी बन्दै हिँडको के हो? यो अकाट्य प्रेमकथा होइन? महादेव र पार्वतीको अद्वितीय निःशर्त प्रेमको कथा के हो? महादेव र पार्वतीले दोस्रोपटक पनि श्रीमान्–श्रीमती बनेर बस्न चाहनु के हो? जालन्धर र वृन्दाको अमर प्रेम कहानी के हो? विरणी र दक्ष प्रजापति, महादेव र सतीदेवी÷पार्वती, विष्णु र लक्ष्मीको प्रेम कथाले प्रत्येक घरका श्रीमान्–श्रीमतीको सम्बन्ध यस्तै हुनपर्छ भन्ने सन्देश दिएको छैन?
सञ्चार–सन्देश
पुस्तक सञ्चारकै परम्परागत माध्यम हो। यसबाट तत्कालीन समयको अवस्था थाहा पाइन्छ। सूक्ष्म अध्ययन गर्दा स्वस्थानी कथाले तत्कालीन समयमा हुने राजनीतिक युद्धलाई देखाउँछ। दैत्य र देवताबीच अनेक नाममा यस्तो युद्ध भएको देखिन्छ।
अनि दलका नेतालाई यताको कुरा उता उताको कुरा यता लगाएर राजनीतिक भ्रम ल्याउन खोज्ने, गाउँ/घर–घर, कार्यालय/कार्यालयमा अन्तरविरोध ल्याउने नारद मुनिहरू वर्तमान आधुनिक समाजमा पनि छैनन्? द्वन्द्वात्मक भौतिकवादीहरू हिँडेको बाटो र अडेको माटोमा समेत छैनन् र यस्ता नारदहरू?
अर्काेतिर धन–सम्पत्तिको अहङ्कारले महादेवको निन्दा गर्दा राजा दक्षप्रजापतिले पतन हुनुपरेको कथाले अहङ्कारीहरू जतिसुकै सत्ता र शक्तिमा भए पनि एक दिन सडकमा आउँछन् र नवराज जस्तो विपन्न इमानदार व्यक्ति पनि शक्तिमा आउन (राजा बन्न) सक्छन् भन्ने सन्देश दिएको छ।
लैंगिक सन्देश
अहिलेको लोकतान्त्रिक गणतन्त्रात्मक युगमा त महिलालाई हेर्ने दृष्टिकोण अझै पुरुषवादी भएको अवस्थामा त्यति बेला महिलाप्रतिको हेराइ यस्तो हुनु स्वाभाविक हो। आजजस्तै त्यो बेला पनि महिलाकै नाममा युद्ध भएको देखाइएको छ। जस्तो वृन्दाको सतित्व (पतिव्रता) डगाउने विष्णु या पार्वतीलाई छल गर्न खोज्ने जालन्धरका कारण युद्ध भएको र रावणले महादेवसँग पार्वती वर मागेको कथा जोडिएको छ।
तैपनि यसबाट त्यति बेलाको परिवेश बुझ्न पो सकिन्छ त!
सारमा श्रीस्वस्थानी व्रतकथा अध्यात्मवादी पवित्र ग्रन्थ भएकाले जथाभावी बोल्दा अध्यात्मवादीको आत्मा दुख्छ भन्ने बुझ्नुपर्दछ भौतिकवादीहरूले। अझ भौतिकवादीहरूले समेत अध्यात्मलाई जीवनदर्शन मान्नुपर्छ। किनकि आध्यात्मिक हुनु मानसिक र शारीरिकरूपमा निरोगी हुनु हो। अरूको कुभलो नचिताउनु, सकारात्मक सोच लिनु हो। के भौतिकवादीलाई स्वस्थ, सकारात्मक र सबैको प्रिय हुन मन लाग्दैन र!

प्रतिक्रिया दिनुहोस्