विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत



ईश्वरराज ढकाल, काठमाडौं ।

काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ। तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण शाखा प्रमुख डा. सुरेशसुरश श्रेष्ठका अनुसार तीमध्ये सबैभन्दा बढी भक्तपुर दरबारक्षेत्रमा रहेका छन्।

भक्तपुर दरबार क्षेत्रभित्र १ सय ५४ सम्पदा मापदण्ड विपरीत देखिएका छन्। विभागको तथ्याङ्कअनुसार पाटन दरबार क्षेत्रभित्र १ सय ३०, हनुमानढोका दरबार क्षेत्रभित्र ९५, स्वयम्भू क्षेत्रभित्र ७०, पशुपतिक्षेत्र विकास कोषअन्तर्गतका क्षेत्रभित्र ६६, बौद्धनाथ क्षेत्रभित्र ६० र चाँगुनारायण क्षेत्रभित्र २४ संरचना मापदण्ड विपरीत बनेका छन्।

युनेस्कोले सम्पदा क्षेत्रभित्र मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन सरकारलाई आग्रह गर्दै आएको छ। विशेष गरी हनुमानढोका दरबार क्षेत्रलाई पटकपटक खतराको सूचीमा राख्ने चेतावनी दिँदा पनि मापदण्ड विपरीत निर्माण गरिएका संरचना नै मुख्य कारण देखाइएकोे थियो। विभागका अनुसार २०४६ सालदेखि २०७१ सालसम्म मापदण्डविपरीत संरचना निर्माण भएका हुन्।

विभागका शाखा प्रमुख डा. श्रेष्ठले २०७२ सालको शक्तिशाली भूकम्पपछि ती क्षेत्रमा पुनर्निर्माण भएका संरचना मापदण्डअनुसार नै भएको दाबी गर्दै भन्नुभयो– ‘अहिले त्यो क्रम रोकिएको छ। सम्पदा क्षेत्रको संरचनाको नक्सा पास गर्ने र कार्यान्वयन गर्ने निकाय स्थानीय निकायको हो। तर स्थानीय निकायले एक किसिमको नक्सा पास गर्ने अनि घरधनीले मापदण्ड विपरीत निर्माण गर्ने प्रवृत्ति बढेको कारण समस्या देखिएको छ।’

काठमाडौं महानगरपालिका सम्पदा महाशाखाका निर्देशक रामबहादुर थापाले अब नयाँ रणनीति ल्याएर नियमविपरीत बनेका घरलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।

विश्वसम्पदा क्षेत्रमा निर्माण भएका संरचना हेर्ने जिम्मा पुरातत्वको र भवन निर्माण सम्पन्न दिने जिम्मा स्थानीय तहको भएकाले केही समस्या देखिएको छ। विभागका विश्वसम्पदा शाखा प्रमुख डा. श्रेष्ठले मापदण्ड विपरीत निर्माण भएका अधिकांश संरचना कारबाहीमा परेको जानकारी दिनुभयो। त्यसैले अहिले उनीहरूले न घर बिक्री गर्न सकेका छन्, न त धितो राखेर ऋण लिन नै। मापदण्ड विपरीत निर्माण गरेका ती संरचनामा भाडामा दिनेमात्र काम भइरहेको छ।

सम्पदा क्षेत्रमा निर्माण भएका संरचनाको मापदण्ड हेरी कारबाही गर्न विभागसहितको प्राचीन स्मारक संरक्षण सहयोग समिति रहने व्यवस्था छ।

सो समितिले मापदण्ड निर्माण सम्पन्न लिनुअघि मापदण्ड अनुसार भए–नभएको विषयमा स्थलगत निर्णय गर्ने गरेको छ।

विश्वसम्पदा क्षेत्रभित्र निर्माण हुने घरको उचाई ३५ फिट, र कोठाको उचाइ ८ फिट हुनुपर्ने, परम्परागत सामग्री प्रयोग गर्नुपर्ने, घरको झ्याल ढोका परम्परागत शैलीको बुट्टेदार काठबाट बनेको हुनुपर्ने, माथिल्लो भागमा पूर्णरूपले छोप्न नहुने लगायतका मापदण्ड छन्। विश्वसम्पदा क्षेत्रमा निर्माण भएको घरले सामान्य प्रक्रिया पूरा नगरेपनि मापदण्ड विपरित हुने विभागको भनाई छ। विभागले निवेदन आएका मध्य केहीलाई भत्काएर पुननिर्माण गर्न लगाएको छ।

सम्पदा क्षेत्रमा निर्माण भएका संरचनालाई २०७२ सालको भुकम्पले भत्काएपछि पुनःनिर्माण गरिएका संरचना मापदण्ड अनुसार नै हुने गरेको डा. श्रेष्ठले बताउनुभयो। युनेस्कोले काठमाडौं उपत्यकाको सात र लुम्बिनी गरी दुई सांस्कृतिक, सगरमाथा र चितवन गरीदुई प्राकृतिक क्षेत्रलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस्