आर्थिक समृद्धि भए राजनीति संस्थागत : उपराष्ट्रपति



अमृत अर्याल ,स्याङजा।

स्याङ्जाको वालिङमा आयोजित नेपाल मगर संघको ३८ औं स्थापना दिवसको अबसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले जुनसुकै राजनीतिक परिवर्तन भएपनि आर्थिक समृद्धि भएन भने राजनीति संस्थागत हुन केही अफठ्याराहरु आउन सक्ने बताउनुभएको छ । मगर समुदायको स्थापना सगै वालिङमा निर्माण गरिएको मगर गुमाष्ठा इम भवनको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले राजनीति सगै आर्थिक रुपमा केन्द्रित हुन सकिएन भने राजनीति संस्थागत हुनेमा अफठ्यारा दिनहरु आउन सक्ने बताउनुभएको हो ।

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट सारा नेपालीको आर्थिक सामाजिक रुपान्तरण सहित समृद्ध नेपालको एजेण्डा पुरा गर्ने अभिभारा पुरा गर्नु पर्ने धारणा उपराष्ट्रपति पुनको थियो । मुलुक परिवर्तनमा सबै एकै साथ अगाडी बढेकाले नै जनताले मुलुकको शासन सत्ता चलाउने मौका पाएको पुनले बताउनुभयो ।

समावेसी व्यवस्थाले आदीवासी जनजाती र उत्पिडित जातीको शासनसत्ता देखी कर्मचारी प्रशासनमा सहभागीता हुने मौका पाएको छ पुनले भन्नुभयो, “लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्दै आजसम्म आईपुग्दा मुलुकले केही उपलव्धी हासिल गरेको छ ।”

सिंहदरवारको अधिकार गाँउ गाँउमा पुगेको र विकासका कार्यहरु अगाडी बढ्दै हरेक स्थानीय तहले आफ्नो अधिकारको निर्णय आफै गर्ने अवसर पनि उपलव्धी भएको उपराष्ट्रपति पुनले बताउनुभयो । उपलव्धीलाई अझै संस्थागत गर्न बाँकी रहेको पुनले बताउनुभयो । नेपालको हरेक आन्दोलनमा मगर समुदायले देखाएको भुमिका गौरवलाग्दो रहेको उल्लेख गर्दै उपराष्ट्रपति पुनले इमान्दार, देशभक्त, विश्वासिलो र कर्मठ मगर समुदायको आफैमा गौरवमय इतिहास रहेको बताउनुभयो ।

सबै जातजातीका केही माग अझै पनि पुरा नभएका हुनसक्छन् उपराष्ट्रपति पुनले भन्नुभयो,“बैधानीक संघर्ष चल्दै जाला तर सारा नेपालीको साझा एजेण्डा समृद्ध नेपाल बनाउनु हो ।” हिमाल, पहाड, तराई र मधेश मिलेर बनेको हाम्रो मुलुक कला संस्कृतिले धनी भएपनि यसको संरक्षणमा सरकारको ध्यान नपुगेको समेत बताउनुभयो ।

सरकारले घोषणा गरेको भ्रमण बर्ष २०२० लाई सफल बनाउन पनि विभिन्न जातजातीको कला संस्कृति, धर्म संस्कारको उत्तिकै दायीत्व रहेको बताउदै उपराष्ट्रपति पुनले यस्ता संस्कृतिलाई संरक्षण गर्न आग्रह गर्नुभयो । पुनले मगर समुदायको ३८ औं स्थापना दिवसको अबसरमा देश विदेशमा रहने सबै मगर समुदाय लगायत गैह्र मगर समुदायलाई स्याङ्जाबाट शुभकामना सन्देश समेत दिनुभएको छ ।

वालिङ नगरपालिकाका नगर प्रमुख दिलिपप्रताप खाँण, नेपाल मगर संघका सल्लाहकार पुर्णबहादुर थापा, संघका कार्यबहाक दिनेश राना, सचिव सागर चर्तिमगर, रिना राना लगायतले अझै पनि मगर समुदायको माग प्रति नेपाल सरकार सकरात्मक नहुनु चिन्ताको विषय भएको बताउनुभएको थियो । कार्यक्रममा जिल्लाका विभिन्न नगरपालिका तथा गाँउपालिकाबाट मगर समुदाय र गैह्र मगर समुदायको उल्लेख्य सहभागिता रहेको थियो । उपराष्ट्रपति पुन फागुन १४ र १५ गते २ दिनसम्म स्याङ्जामा रहनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्