कोरोनाभाइरस त्रास : जापानमा एक महिना विद्यालय छुट्टी



टोक्यो।

जापानका प्रधानमन्त्री शिन्जो आबेले त्यहाँका सार्वजनिक विद्यालयहरूलाई अस्थायी बन्द गर्ने घोषणा गरेका छन्।आगामी सोमबारदेखि मार्च महिनाको अन्त्यसम्म ती विद्यालयहरू बन्द रहने छन्।

जापानमा दुई बालबालिकासहित थप १३ जनामा कोभिड(१९ सङ्क्रमण देखापरेपछि उक्त घोषणा भएको छ।जापानमा यसै वर्ष ओलिम्पिक प्रतियोगिता हुँदैछ।

प्रतियोगिताको आयोजक समितिले खेलभन्दा अगाडि हुने ओलिम्पिक मसाल रिलेमा थोरै सहभागिता गराइने जनाएको छ।

अन्यत्र के हुँदैछ? 

साउदी अरेबियाले विदेशीलाई तीर्थयात्रीको रूपमा आगमन गर्न निषेध गरेको छ भने कोरोनाभाइरस सङ्क्रमण भएका देशहरूबाट आउने पर्यटकलाई पनि उसले रोक्ने छ।

वार्षिक रूपमा हुने हज तीर्थयात्राबारे पनि अनिश्चय उत्पन्न भएका छन्।संसारभरिका मुस्लिमका निम्ति हज यात्रा महत्त्वपूर्ण हुन्छ। यसपाली जुलाई तथा अगस्टमा हजयात्रा परेको छ।

इरानमा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ।युकेले थप दुई सङ्क्रमण भएको जनाएको छ। त्यहाँ १५ जना सङ्क्रमित भएका छन्।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले त्यहाँ कोरोनाभाइरसको प्रकोप अवश्यम्भावी भएको बताए।अमेरिकामा उपराष्ट्रपति माइक पेन्सलाई कोरोनाभाइरसको मामिलाको प्रमुख जिम्मेवार अधिकारी तोकिएको छ।

बुधवारसम्म अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ। तिनमा ४५ जना विदेशबाट उद्धार गरेर ल्याइएका हुन् भने १५ जना देशभित्रै देखापरेका हुन्।

अस्ट्रेलियाको आपत्‍कालीन योजना

अस्ट्रेलियामा प्रधानमन्त्री स्कट मरिसनले संसार कोरोनाभाइरसको महामारीको संघारमा पुगेको चेतावनी दिँदै त्योसँग जुझ्न सरकारले राष्ट्रिय आपत्‍कालीन योजना बनाएको घोषणा गरेका छन्।

चीनभन्दा बाहिर कोरोनाभाइरसको सङ्क्रमणको गतिले अस्ट्रेलियालाई पनि त्यस्तो योजना बनाउन बाध्य पारेको उनले बताए।सरकारले चीनबाट आउने यात्रुमाथि यात्रा प्रतिबन्ध लगाएको छ।

तत्कालै फुटबल प्रतियोगिताजस्ता भिडभाड हुने कार्यक्रम रोकिहाल्ने स्थिति नआएको मरिसनले बताए।

बिबिसी नेपाली

प्रतिक्रिया दिनुहोस्