एसिड प्रहार गर्नेलाई ८ वर्ष कैद



न्युज अफ नेपाल,हेटौंडा।

हेटौंडाकी बिन्दवासिनी कंसाकारमाथि एसिड (तेजाव) प्रहार गर्ने भारतीय नागरिक दीलिपराज केशरीलाई ८ वर्ष कैद सजाय सुनाइएको छ ।
जिल्ला अदालत मकवानपुरले केशरीलाई ८ वर्ष कारागार चलान गर्न आदेश दिएको हो । जिल्ला न्यायाधीश कमलराज बिष्टको इजलासले केशरीलाई जेलमा राख्न आदेश जारी गर्दै एक लाख रुपियाँ जरिवाना गर्ने फैसला गरेको हो ।

कंसाकारमाथि एसिड प्रहारमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै सञ्जय मण्डललाई साढे २ वर्ष कैद सजायसहित ४० हजार जरिवाना तोकिएको कंसाकारका तर्फबाट वकालत गर्दै आउनुभएकी जिल्ला कानुनी सहायता समिति मकवानपुरकी अधिवक्ता अप्सरा बस्नेतले जानकारी दिनुभयो ।

एसिड प्रहार गरेर फरार भएका भारत महाराजगञ्ज अमरपूर्वन वडा–६ बस्ने राज भनिने केशरीलाई प्रहरीले पक्राउ गरेको थियो । उनी रेडकर्नर नोटिसमा परेका अभियुक्त हुन् ।प्रहरीले केशरीलाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२३, भलोहीमा लुकेर बसेको अबस्थामा पक्राउ गरेको थियो । निरन्तर खटिएको प्रहरी टोली केशरीलाई पक्राउ गर्न सफल भएको हो ।

बाराबाट पक्राउ गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । केशरीलाई सार्वजनिक गर्न प्रहरीले गरेको कार्यक्रममा हेटौंडाकी पीडित कंसाकारले एसिड छ्यापेर भाग्ने केशरीलाई फाँसीको सजाय माग गर्नुभएको थियो । एसिड प्रहार गरेर भाग्नेलाई फाँसी दिन नसके जन्मकैद सजाय दिन उहाँले माग गर्नुभएको थियो ।

एसिड प्रहार गरेर फरार केशरीलाई मकवानपुर प्रहरीले सार्वजनिक गर्दैगर्दा कंसाकारले रिस थाम्न सक्नुभएन । एसिड आक्रमणका कारण घाइते भएकी कंसाकारको हालसम्म ८० लाख खर्च भएको बताइएको छ । एसिड प्रहारपछिको अवधिमा विभिन्न अस्पतालमा गरी ८० लाख रुपियाँ खर्च भएको उहाँले बताृनुभयो । उहाँको उपचार जारी छ ।

२०७० वैशाख ९ गते विहान करिब ११ बजे हेटौंडा–३ मा रहेको आफ्नै भाँडा पसलमा २१ वर्षकी कंसाकारलाई पसलभित्र बसिरहेको अबस्थामा एसिड प्रहार भएको थियो । करिब २७ वर्षका राजकेशरी उहाँको अनुहारमा एसिड फ्याँकेर भारत फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्