बास्कोटा अडियो प्रकरण : प्रधानमन्त्री ओली भन्छन् ‘भ्रष्टाचार गरेको केही प्रमाण छैन’



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले घुसकाण्डमा मुछिएका पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको बचाउ गरेका छन् ।

बिहीबार राजधानीमा आयोजित वाग्मती प्रदेशस्तरीय अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बाँस्कोटाले भ्रष्टाचार गरेको कुनै प्रमाण नभएको बताएका छन् ।

ओलीले भने, ‘एउटा टेप प्रकरणमा कुनै अनाडी मान्छेले अनाधिकृत तवरले अडिओ सार्वजनिक गरेको छ । केही प्रमाण छैन, गोकुल बाँस्कोटाले मेराबारे प्रश्न उठ्यो राजीनामा दिएँ भन्नुभएको छ । उक्त अडिओ मेरो होइन भन्नुभएको छ । सत्यता पुष्टि भएको छैन। स्विस एम्बेसीले पनि त्यो एजेन्ट होइन भनेको छ।’

बाँस्कोटाविरुद्ध उजुरी नपरेको बताउदै ओलीले अनावश्यक प्रचार गर्न जरुरी नरहेको जनाए । ‘भ्रष्टाचार भएकोजस्तो गरी प्रचार गर्नु जरूरी छैन,’ प्रधानमन्त्रीले भने,‘दोष भए उहाँले सजाय भोग्नु पर्छ। अहिलेसम्म उजुरी परेको छैन ’, ओलीले भने । यस्तै आफ्नो नाम समेत जोडेर गरेको उजुरीका विषयमा ओलीले भने ,‘कसैले मेरो नाम पनि जोडेर उजुरी गरेको छ। त्यो काम नलाग्ने पत्रु उजुरी हो, भ्रष्ट उजुरी हो,’।

‘हाम्रा नेताको नाम जोडेर २० करोड माग्यो भनियो। सत्य हो भने कारबाही हुन्छ झुठ भए प्रतिवाद हुन्छ,’ उनले भने। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न जर्मन र फ्रान्स सरकारसँग सिधा कुरा भइरहेका जनाउदै स्विस एजेन्टको कुरा आउन सम्भव नभएको ओलीले बताए ।

उनले भने, ‘मैले कसैको डिफेन्ड गर्न खोज्या होइन। गोकुल बाँस्कोटा दोषी भए कारबाही हुन्छ होइन भने झुठो बोल्नेलाई कारबाही हुन्छ,’ ओलीले भने।

सेक्युरिटी प्रेस खरिदमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले गत बिहीबार राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्