आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…   



kf]v/f, !% kmfu’gM kf]v/f dxfgu/kflnsf –@& l:yt ln6n ˆnfj/ Ph’s]zgn Ps]8]dLsf sIff !) df cWoog/t ljBfyL{ ?k]z rFb/f v8sf cfFkm}n] agfPsf] ljB’taf6 rNg] uf8L -uf] sf6{_ rnfP/ b]vfpFb} . t:jL/M jf;’b]j kf}8]n÷/f;;

पोखरा। आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे ।

विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी(गो कार्ट) चलाएरै देखाएपछि सबैको स्यावासीमात्र पाएनन् विद्यालयले उनलाई सम्मान पनि ग¥यो । उनीसँगै विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरियो ।

उनले बनाएको गाडी आफैँले मात्रै चलाएनन् अभिभावक दिवसका प्रमुख अतिथि पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समेत चलाउनुभयो । सिकेका विषयलाई व्यवहारमा उतारेको भन्दै गुरुङले चँदराको प्रशंसा गर्नुभयो ।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने १६ वर्षीय चँदरा सामान्य परिवारका विद्यार्थी हुन् । विद्यालयमा सिकेको विषयलाई टपक्क टिप्दै त्यसलाई व्यवहारमा उतार्ने चँदरामा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेल बताउनुहुन्छ । “उनी जिज्ञासु छन्, यस अघि पनि उनले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी आदि बनाइसकेका छन्”, पौडेलले भन्नुभयो ।

हरेक विद्यार्थीमा हुने सिर्जनात्मकताको विकासका लागि विद्यालय परिवार एवं अभिभावकको महत्वपूर्ण भूमिका हुने उहाँले बताउनुभयो । विद्यालयले गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै आफ्ना शैक्षिक कार्यक्रम अघि बढाइरहेको पौडेलले बताउनुभयो ।

पर्वतको कुष्मा नगरपालिका–१ पाङ स्थायी बसोवास भई पेशा एवं व्यवसायका क्रममा चँदराको परिवार अहिले पोखरा–२७ रिठेपानीमा बस्दै आएको छ । उनका बुबा सोमबहादुर चँदराले रिठेपानीमा ग्रिल उद्योग सञ्चालन गर्दै आउनुभएको छ । बुबाले ग्रिल उद्योग चलाएका कारण गाडी बनाउनका लागि सामग्री जुटाउन आफूलाई निकै सजिलो भएको रुपेशले बताए ।

“झण्डै २० दिनमा तयार गरेको गाडीका सामग्री सङ्कलन गर्न मात्रै लगभग रु एक लाख २० हजार जति खर्च भएको छ”, उनले भने । आफूलाई नयाँ नयाँ सिर्जनाका लागि विद्यालय परिवारका साथै घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त भएको उनले बताए ।

विद्यालयका विद्यार्थीको सिर्जनात्मकता आफूहरूका लागि गौरवको विषय भएको संस्थापक देवी खड्का बताउनुहुन्छ । विद्यार्थीले नयाँ नयाँ सिर्जनाका साथै विभिन्न ठाउँमा भएका प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेको बताउँदै उहाँले उनीहरूको सिर्जनात्मकतालाई उजागर गर्दै त्यसको वातावरण निर्माणका लागि विद्यालय सधैँ तयार रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्