आजदेखि मौसम सुधार हुने



न्युज अफ नेपाल, काठमाडौँ  ।

पश्चिमी न्यूनचापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम बिहिबारदेखि सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार बेलुकादेखि पश्चिमी वायु बाहिरिएको मौसमविद्ले जनाएका छन् । उपत्यकामा दिउँसो आकास खुला भई घाम लाग्ने बताइएको छ । यस्तै, राति भने देशका मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपछि देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसमविद्को भनाइ छ । शनिबारदेखि फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भूभागलगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १४ दशमलव एक डिग्री सेल्सियस छ ।

प्रतिक्रिया दिनुहोस्