साझा पार्टीको राष्ट्रिय भेला आजदेखि सुरू



न्युज अफ नेपाल, काठमाडौँ ।

रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीको राष्ट्रिय भेला आजबाट लुम्बिनीमा सुरू हुँदैछ । फागुन १७ गतेसम्म चल्ने भेलामा देशका सातै प्रदेश तथा विदेशस्थित सद्भाव समूहकासमेत गरी करीब पाँच सय अगुवा सदस्य सहभागी हुने प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

“साझा पार्टी फरक धार, नयाँ उर्जा संगठन र विचार” नारा दिईएको राष्ट्रिय भेलाले पार्टी स्थापनायताको अनुभव, सिकाइ, उपलब्धिहरूलाई रक्षा गर्दै तिनको जगमा अझ अगाडि जाने र आगामी एक बर्षभित्र पार्टीलाई नयाँ राजनीतिक उचाइ दिने गरी रणनीतिक र सांगठनिक कार्ययोजना तय गर्नेछ।

भेलाको पहिलो दिन आज दिउँसो तीन बजेपछि उद्घाटन सत्र सुरू हुनेछ। आजै साँझ सात बजे केन्द्रीय समितिका सम्पूर्ण सदस्य र भेलाका सबै सहभागी सदस्यहरूले मायादेवी मन्दिरमा शान्ति दीप प्रज्वलन गर्ने कार्यक्रम छ । दोस्रो दिन शुक्रबार समूहगत प्रस्तुती र छलफल हुनेछ।

तेस्रो तथा अन्तिम दिन शनिवार समूहगत छलफलमा उठेका प्रश्नहरुको जवाफ केन्द्रीय नेतृत्वले दिनुका साथै साझा पार्टीको रणनीति र कार्ययोजना पारित गरी लुम्बिनी घोषणापत्र जारी गर्दै भेला समापन हुनेछ।

प्रतिक्रिया दिनुहोस्