उपत्यकाको फुटपाथ समस्या सधैँउस्तै



फुटपाथको बेथिति अन्त्य गर्ने गरी काठमाडौं महानगरपालिकाले शुरू गरेको अभियान सेलाएको छ। फुटपाथ ओगटेर गरिँदै आएको व्यापारलाई निषेध गर्ने अभियान के कारणले सेलाएको हो ? बुझ्न पाइएको छैन। काठमाडौंको व्यस्त शहरी क्षेत्रमा सर्वसाधारण बटुवाले खेप्नुपरेको सबैभन्दा ठूलो सास्ती भनेकै फुटपाथको व्यापार हो।
पिच सडकका सवारीसाधनका कारण खुट्टा राख्ने ठाउँहुँदैन, पैदल हिँड्नका लागि बनाइएको फुटपाथ व्यापारीका सामानले ओगटिएको हुन्छ। आफ्नै सवारीसाधन हुनेहरूलाई त खासै ठूलो समस्या नहोला तर पैदल यात्रीका लागि भने निकै सकस देखिएको छ। महानगरपालिकाले बेला–बेलामा यसको समस्या समाधान गर्ने गरी काम गर्ने बताए पनि अहिले कानमा तेल हालेर बसेको छ।
काठमाडौं महानगरपालिकाको पटक–पटकको प्रयास शुरू हुँदै तुहिँदै गरेको इतिहास हामीसँग छ। ०४९ सालको स्थानीय निर्वाचनलगत्तै शुरू भएको फुटपाथको व्यापार हटाउने पहिलो प्रयास फेल भयो। तत्कालीन मेयर पीएल सिंहले नगरप्रहरीको व्यवस्था गरेर गरेको अभियान तुहिएको थियो। दुई–चार महिना समस्या समाधान भए पनि नगर प्रहरीकै मिलेमतोमा फुटपाथको व्यापार फस्टायो। ०५४ सालमा केशव स्थापित मेयर बनेपछि फुटपाथको व्यापार हटाउने प्रयास फेरि शुरू भयो तर निरन्तरता पाएन।
देशभरिमा करिब ४ लाख फुटपाथ व्यवसायी रहेको अनुमान गरिएको छ। यो संख्या सानो होइन। यो ठूलो संख्यालाई स्थायीरूपमा चिढ्याउने जोखिम लिन कुनै पनि जनप्रतिनिधि तयार नभएकै कारण समस्या समाधानका प्रयासहरू ‘हात्ती आयो हात्ती आयो फुस्सा’ हुने गरेका हुन्। सानो लगानीमा सजिलै परिवारको आवश्यकता पूरा गर्न सकिने भएकाले काठमाडौंमा फुटपाथ व्यवसायीहरू दिनानुदिन बढिरहेका छन्। सडकमा व्यापार गर्दा भाडा तिर्नु नपर्ने र सरकारलाई कर पनि तिर्नु नपर्ने भएकाले अधिकांश निम्नवर्गीय नागरिक फुटपाथको व्यापारमा आकर्षित भएका हुन्। सरकारको मोटो रकममा कर छलीसमेत भएको छ।
काठमाडौंको सुन्धारा, नयाँबानेश्वर, रत्नपार्क, कालिमाटी, पाटन, लगनखेल, गोंगबु, नयाँबसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका व्यस्त सडकछेउछाउमा फुटपाथको व्यापार हुने गरेको देखिएको छ। सरकारले तत्काल यो विषयमा ध्यान दिनु जरुरी छ।
– समर्पण ओझा, थानकोट।
छाउ प्रथाको जरा कहिले उखेलिन्छ ?
देउता रिसाउने, अशुभ हुने लगायत सामाजिक मान्यताका कारण सुदूरपश्चिम तथा कर्णाली प्रदेशका अधिकांश घरका महिला महिनावारी हुँदा छाउ बार्ने गरेको पाइएको छ।
केही ठाउँमा अहिले पनि छाउगोठमै गएर बस्ने प्रचलनका कारण धेरै महिलाको ज्यानसमेत गएको छ। परम्परागत सोच र सामाजिक परम्पराको दबाबमा छाउगोठमा बस्ने प्रचलन अशिक्षित मात्रै होइन शिक्षित वर्गमा पनि व्याप्त रहेको छ। छाउगोठ बस्दा चिसोले समस्या हुने मात्रै होइन सर्पले टोकेर समेत कतिपय महिलाले अकालमा ज्यान गुमाउन पुगेका घटना भएका छन्। महिनावारी महिलाको प्रजनन स्वास्थ्यमा हुने एक सामान्य प्रक्रिया हो, यसलाई अशुभ मान्ने प्रचलनका कारण महिला तथा बालबालिकाको ज्यान जाँदा छाउगोठ हटाउन नसक्नु लज्जाको विषय हो।
देउती रिसाउँछिन् भनेर पुरुषहरूले नै महिलालाई गोठमा जान बाध्य पार्ने प्रचलन जबसम्म हटाउन सकिँदैन तबसम्म महिला तथा बालबालिका सुरक्षित जीवनयापन गर्न पाउँदैनन्। पुरुषमा रहेको असामाजिक चेतनालाई सबैभन्दा पहिला निर्मूल पार्न जरुरी छ। जनप्रतिनिधिदेखि शिक्षक, राजनीतिक दलका परिवारमा समेत महिनावारी हुँदा बाहिर सर्ने चलन विगतदेखि नै चलिआएको नागरिक अगुवा बताउँछन्। आफ्नो गाउँठाउँलाई परिवर्तनको दिशातिर उन्मुख गराउने प्रतिबद्वता जनाएका जनप्रतिनिधिले छाउगोठमा बस्नुपर्ने बाध्यतात्मक अवस्था हटाउन नसक्नु लोकलाजको विषय हो। जबसम्म शिक्षित वर्ग र जनप्रतिनिधिले छाउगोठमा बस्ने कुप्रथालाई हटाउन भूमिका खेल्न सक्दैनन् तबसम्म मानव विकासले गति लिन सक्दैन।
जबसम्म मानव विकास हुँदैन तबसम्म आफ्नो गाउँ–ठाउँको विकास हुने पनि सम्भावना हुँदैन। विज्ञानले दुनियाँलाई डिजिटलाइज गरेको युगमा पनि महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने प्रचलनले नेपालीको मानव विकास कुन गतिमा छ भन्ने पनि प्रस्ट पारेको छ। अशिक्षित वर्ग त चेतनाको कारण छाउगोठ बस्नु सहज भए पनि शिक्षित वर्ग नै यसलाई मलजल गर्न तल्लीन हुनु भने आफ्नो खुट्टामा आफैं बन्चरो प्रहार गर्नु हो।
अर्काेतर्फ विद्यालयमा लाजका कारण स्वास्थ्य तथा शारीरिक विषयसमेत राम्रोसँग पढाइ नहुँदा अर्को समस्या आएकोमा कसैको पनि दुईमत छैन। देशका दुर्गम क्षेत्रमा प्रजनन स्वास्थ्यको विषयमा सहजरूपमा पठनपाठन पनि हुन नसकेको थुप्रै उदाहरण छन्। स्वास्थ्यका शिक्षकले खुलेर प्रजनन स्वास्थ्यका विषयमा कक्षा लिन र दिन नसक्दा व्यवहारमा लागू हुने कुरा पनि भएन। उमेर बढ्दै जाँदा शरीरमा देखा पर्ने विभिन्न खालका परिवर्तनका विषयमा शिक्षकले कक्षामा पढाउन खोज्दा छात्रा टाउको निहुँ¥याएर बस्ने र छात्रहरूले हाँसेर उडाउने प्रचलन कायम छ।
विद्यालयमा पढाएका कुरा स्वयं शिक्षकले घरमा लागू गर्न नसक्नु अर्को दुर्भाग्य हो। शिक्षा दिने शिक्षक–शिक्षिकाले महिनावारीको विषयलाई जबसम्म घरमै व्यावहारिकरूपमा लागू गर्न सक्दैनन् तबसम्म छाउगोठ बस्ने प्रचलन हट्ने कोरा कल्पना मात्र हुनेछ। छाउगोठले धेरै महिला र बालबालिकाको ज्यान लिएको देख्दा पनि अन्धो बन्ने प्रवृत्ति जबसम्म हामीले त्याग्दैनौं तबसम्म यसको कहरले ज्यान लिइरहन्छ।
– रुबिना शाही, सुर्खेत
कलेजो बचाउन मोटोपन घटाऔँ
स्वास्थ्य महत्वपूर्ण धन हो। कलेजो संरक्षण गर्न हामीले स्वस्थ खानेकुरादेखि सबै स्वस्थ्यप्रद कुरामा ख्याल गर्न जरुरी छ। हाम्रो कलेजोमा जब बोसो जम्मा भएर जान्छ, त्यो स्थितिलाई फ्याटी कलेजो (लिवर) भनिन्छ। यसलाई यसरी बुझ्न सकिन्छ कि जसरी मोटोपन हुनाले हाम्रो शरीरको बाँकी भागमा बोसो बढ्छ, ठीक त्यसै गरी हाम्रो कलेजोमा पनि बोसो जम्मा हुन शुरू गर्दछ।
कलेजोद्वारा शरीरमा ब्लडसुगर, विषाक्त तत्व र कोलेस्ट्रोलको स्तर नियमित हुन्छ। कलेजोले नै बोसोलाई पगालेर वाइलको स्राव गर्दछ तर धेरै बोसो थिग्रनुको कारणले फ्याटी लिवरको समस्या हुन्छ। देशको ३० प्रतिशत जनसंख्या यस समस्याले पीडित हुँदै छ। कलेजोमा एकीकृत भएको बोसोले सामान्य सेल्सहरूलाई नष्ट गर्न शुरू गर्दछ, सामान्य सेल्सहरू बिस्तारै नष्ट हुँदै जान्छन्। यो स्थिति पछि गएर हेपाटाइटिस, सिरोसिस, फाइब्रोसिस वा क्यान्सरमा परिणत हुन्छ। बिरामीको मुख्य समस्या मोटोपन हो। डायबिटिज वा थाइराइड हुनेलाई पनि कलेजोमा बोसो (फ्याटी लिवर) हुन सक्छ। त्यसैले नियमित व्यायाममा लागौं। स्वस्थ होऔं।
– अनमोल राई, इलाम।

प्रतिक्रिया दिनुहोस्