भोलिदेखि काँठे लोकदोहोरी महोत्सव



डीएआर मुभिज एन्ड फिल्म इन्डस्ट्रिज प्रालिको आयोजनामा भोलि शुक्रबारदेखि मंगलबारसम्म राजधानीको टुँडिखेलमा राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव–२०७६ हुने भएको छ।
बुधबार रिपोटर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा काठे क्षेत्रको कला र संस्कृति हरेक नेपालीको शान, हाम्रै संस्कृतिको संरक्षण गर्ने हाम्रो अभियान भन्ने मूल नारासहित महोत्सवको आयोजना गर्न लागिएको महोत्सवका संयोजक नवराज ढुंगानाले जानकारी गराए। आयोजकले महोत्सवका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएका छन्।
मेलापातमा झुण्डिएका तर डिजिटल बजारमा व्यवसायिक रूपमा अगाडि आउन नसकेका नयाँतथा पुराना भाका, गीत, संगीतको प्रबद्र्धन गर्ने उद्येश्यले महोत्सव गर्न लागिएको आयोजकको भनाइ छ।
महोत्सवबाट नेपाल भ्रमण वर्ष–२०२० को पवद्र्धन गर्ने, काँठ क्षेत्रमा रहेको ऐतिहाँसिक, पुरातात्विक, सांस्कृतिक, खाना, बाद्यवादन, भेषभुषा, रहनसहन, हस्तकलालगायतको प्रवद्र्धन गर्ने, काँठक्षेत्रका विभिन्न मौलिक गीत संगीतका श्रष्टा सर्जकको प्रस्तुतिका साथै विभिन्न मौलिक नृत्यसहितको सांस्कृतिक कार्यक्रम गर्ने, पुराना तथा नयाँश्रष्टा एकै स्थानमा राखी सम्मान तथा पुस्ता हस्तान्तरण गर्ने, काँठ क्षेत्रको मौलिक पुरातात्विक कला संस्कृति, भेष–भुषा, रहन–सहन, हस्तकाला, खानपिनको बारेमा जानकारी गराइ कार्यक्रमको अवलोकन गराइने र काँठ क्षेत्रका बहुचर्चित सयौंभन्दा बढी मौलिक काठे लोक भाकाहरु छनोट गरी लोकदोहोरी प्रतियोगिता गराई प्रतियोगी घोषणा गरिने आयोजकले जानकारी गराए।
महोत्सवमा प्रथम हुनेलाई नगद ३ लाख र मेडलका साथमा अन्य पुरस्कार, द्धितीय हुनेलाई नगद २ लाख र मेडलका साथमा अन्य पुरस्कार, तृतीय हुनेलाई नगद १ लाख र मेडलका साथमा अन्य पुरस्कार, सान्त्वना हुनेलाई नगद ५० हजार  तथा उत्कृष्ट गायक र गायिकालाई १०/१० हजार रुपियाँप्रदान गरिने आयोजकले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्