रिक्सा चालकलाई धुलोको सम्मान



रिक्सा चालकको कथाव्यथामा आधारित फिल्म धुलोको निर्माण समूहले रिलिजको पूर्वसन्ध्यामा रिक्सा चालकहरुलाई नै सम्मान गरेको छ। भोलि शुक्रबार अल नेपाल रिलिज हुन लागेको फिल्मको निर्माण पक्षले बुधबार राजधानीको क्षेत्रपाटीस्थित पब्लिक युथ क्याम्पसमा एक कार्यक्रम आयोजना गरी लामो समयदेखि रिक्सा चलाएर जीवनयापन गर्दै आएका दुईजना रिक्सा चालकलाई सम्मान गर्यो।
सो अवसरमा चार दशकदेखि ठमेल र क्षेत्रपाटी एरियामा रिक्सा चलाउँदै आएका हीरालाल तामाङ र दुई दशकदेखि सोही स्थानमा रिक्सा चलाउँदै आएका बलबहादुर श्रेष्ठलाई कार्यक्रमका प्रमुख अतिथि फिल्मकर्मी नीर शाह तथा विशिष्ट अथिति नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोक्का र फिल्मका निर्देशक प्रद्युम्न मिश्रले सम्मान गरेका थिए।
करिब एक सय जना रिक्सा चालकलाई धुलो अंकित ज्याकेट प्रदान गरिएको कार्यक्रममा फिल्मका तर्फबाट नागार्जुन एकेडेमीमा आगामी शैक्षिक सत्रदेखि रिक्सा मजदुरका दुई छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था मिलाइएको घोषणा गरियो। कार्यक्रममा धुलोले गरेको सामाजिक कार्यको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणालगायतले प्रशंसा गरेका थिए। कार्यक्रमपछि धुलोमा विशेष भूमिकामा रहेका अभिनेता शाह, प्रमुख भूमिकामा अभिनय गरेका बुद्धि तामाङ, निर्देशक मिश्रलगायत फिल्मको युनिटले रिक्सामा क्षेत्रपाटी परिक्रमा गरेको थियो।
राजधानीमा रिक्सा तथा ठेला गाडा चलाएर जीवनयापन गर्ने मजदुरको वास्तविक कथामा फिल्म निर्माण गरेकाले उनीहरुकै सम्मानमा कार्यक्रम आयोजना गरेको निर्देशक मिश्रले बताए। कार्यक्रममा बोल्दै अभिनेता निर शाहले धुलोले मजदुर र मजदुरीको सम्मान गरेकोमा खुशी व्यक्त गरे। अर्का अभिनेता बुद्धि तामाङले आफू धुलोमा बास्तविक जीवनसँग नजिक रहेको पात्रमा प्रस्तुत भएको जनाउँदै दर्शकको प्रिय बन्ने आशा व्यक्त गरे।
दीपा धरेलको प्रस्तुति रहेको फिल्ममा बुद्धि तामाङ, अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे, बालकलाकार सुदीप कार्कीलगायत प्रमूख भूमिकामा छन् भने नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवा विशेष भूमिकामा छन्। लक्ष्मी गौतम र नानीराम फुयाँलद्वारा निर्मित फिल्ममा केशब मिश्र र दीपक समीरको गीत, शंकर थापा र जुगल डंगोलको संगीत र रबिन आचार्यको छायांकन रहेको छ।

प्रतिक्रिया दिनुहोस्