राजनीतिक विसंगति र जनताको हात



दामोदर पौडेल
लाेकतन्त्रमा कानुनको सम्मान हुन्छ तर लोकतन्त्रको नाममा चलेको भीडतन्त्रमा कानुनले भीडको अहितमा काम गर्न सक्दैन। लोकतन्त्र र भीडतन्त्रमा के फरक छ भने दुवै उस्तै देखिन्छन् तर लागू गर्दा त्यसको महसुस हुन्छ। लोकतन्त्रमा अरूले जे गरेको म रुचाउन्न, त्यो कार्य म गर्दिन भनिन्छ, म जुन काम आफू गर्दिन त्यस्ता काम गर्न अरूलाई पनि साथ दिन्न भन्ने सोच र व्यवहार हुन्छ। भीडतन्त्रमा एकै प्रकारको काममा पनि विभिन्न अर्थ लगाएर अलग व्यवहार हुने गर्दछन्। कहिलेकाहीँत न्यायको पक्षमा पुग्नै सकिँदैन।
हाम्रा नेता ताडका रुखजस्ता अग्ला भएका छन् तर उनीहरूले न सामान्य मानिसलाई फल दिन सकेका छन्, न छहारी नै दिन सकेका छन्। यसो गर्न उनीहरूले चाहेका पनि छैनन्। उनीहरूको काम भनेको जनतालाई मीठो आश्वासन दिने तर सुख जति आफू र आफ्नाहरूलाई दिने नै रहेको छ।
एउटा परिवेश यस्तो छ– गरिबहरू बसेकोले उनीहरूको पुस्तौनी जग्गा–घर भए पनि जानकारीको अभावमा उनीहरूले त्यो जग्गा नापी हुँदा आफ्नो नाउँमा गराउन सकेका रहेनछन्। धनी तथा बाठोले त्यो जग्गा पछि आफ्नो नाममा बनाएको रहेछ। अर्को एकजना मानिसले उसैबाट २० वर्षपहिला जग्गा किन्यो। त्यो जग्गा किन्दा गरिबले खरकै छानो र खरकै बार लगाएर घर बनाई बसेका रहेछन्।
त्यो जग्गामा उनीहरू ५० वर्षभन्दा बढीदेखि बसेका रहेछन्। किन्नेले पछि त्यो जग्गा मेरो हो भनेर मुद्दा दियो। जग्गामा केही भागमा घर भएकोले घरबाहेकको जग्गा त उसको हुने नै भयो। घर पनि कच्ची भएकोले भत्केपछि पाउने गरेर किन्नेको पक्षमा फैसला भयो। अदालतबाट जित्नेको पक्षमा उक्त जग्गा खालि गर्न कर्मचारी र सुरक्षाकर्मी पठाउने काम भयो। कानुनको उचित प्रयोग गर्न नजानेका गरिबहरूको अर्को बस्ने ठाउँपनि थिएन। उनीहरू सडकमा नै बस्नुपर्ने भएपछि समाजमा छलफल भयो। किन्ने मानिसले पहिलादेखि नै छोड्न भनेको तर नमानेको उल्लेख गरे। रुपियाँतिरेपछि उनले लिएको सम्पत्तिको सुरक्षा त हुनै प¥यो नि।
समाजका मनिस पनि बाध्यताले धनी मानिसको पक्षमा देखिएजस्तो भयो। भीड कानुनको पक्षमा देखियो र अदालतको फैसलाको पक्षमा देखियो। त्यसपछि सोधियो– यो जग्गा किन्नेको होला तर समाजमा तपाईंले मन्नुस् कि यी घर कहिलेदेखि थिए ? उनले भने– धेरै पहिलादेखि थिए। त्यसो भए तपाईंले घर देख्दादेख्दै किन त्यो जग्गा किन्नुभयो ? यसमा तपाईंको बेइमानी छैन र ? अब भीड केही फरक भयो र भन्न थाल्यो कि अरूको घर देखी–देखी किन्न नहुने थियो।
कानुन र फैसला विपरीत न्यायको पक्षमा नै समाजले निर्णय गरिदियो कि गरिबहरूलाई धनीले केही लाख रुपियाँदिनुपर्ने। दुवै पक्ष मञ्जुर भए। अशिक्षा, बेइमानी, गरिबीसमेतमा न्याय र कानुन फरक हुन जान्छन् अनि दुई किनाराजस्ता बन्छन्। जबकि हामी कानुनबाट न्याय पाउने आशा गर्दछौं। यहाँपनि भीडको भूमिका छ नै, तर सकारात्मक पक्षमा छ।
विकास सबैलाई चाहिन्छ तर सडक आदि बनाउनुपरेमा ती संरचना बन्दा सडकमा परेर बचेको जग्गाको मूल्य पहिलाको भन्दा धेरै बढी हुन्छ। तर हामी जग्गाको वास्तविक मूल्यभन्दा धेरै बढी क्षतिपूर्ति माग गर्दछौं। नपाएसम्म काम रोकिन्छ। शायद लोकतन्त्र नभएको भए त्यस्तो हुने थिएन। यहाँपनि लोकतन्त्रमा भीडतन्त्रसमेत मिसिएको छ। भीडले बाठो अपराधीलाई साधु र सोझो साधुलाई अपराधी पनि बनाउन सक्छ। नेताहरू भीड भड्केमा मत कम हुने डरले भीडको पक्षमा नै बोल्ने गर्छन्। राजनीतिक न्याय त दल, भीड र मत बढी हुनेहरूको पक्षमा जाने गरेका उदाहरण धेरैले महसुस गरेको हुनुपर्छ।
अर्को विरोधाभाषपूर्ण पक्ष छ, त्यो हो मत दिँदा बारम्बार जनताले आफैंले पनि गलत भनेको उम्मेदवारलाई मत दिन्छन्। उनीहरूले नेताहरूले दिएका पैसा र खानालाई आधार बनाएर पनि मत दिन्छन्। तर तिनै मत दिनेहरू लोकतन्त्र आएर के भयो ? सधैँबेइमानले मात्र चुनाव जितेको छ भन्ने गर्छन्। हातमा लाइट छ तर हामी आकाशको सूर्य हेरेर बाटो नहेर्दा भिरबाट लड्छौं। त्यसपछि भिरको बाटोलाई नै हामी दोष दिन्छौं। हामी अन्धा छैनौं तर अन्धाजस्तै भएका छौं। त्यही भीडले आँखा चिम्लेर बेइमानलाई भोट दिन्छ र त्यही भीडले तिनै बेइमानले बेइमान गरे भनेर सडकमा जुलुस निकाल्छ।
सामाजिक विसंगतिको भीड पनि कम छैन। महिलाको सम्मान उनको व्यवहार, बुद्धि, विवेक र शिक्षाको आधारमा हुने हो। तर शिक्षित महिला पनि शिक्षाको गहनालाई सुनको गहनाले छोपेर आफू सुन्दर र सम्मानित भएको महसुस गर्छिन्। टोल–टोलमा सामान्य अपराधलाई रोक्ने र समाजमा नै निस्पक्ष भएर सजाय गर्ने हो अनि सामान्य विवादलाई टोलमा नै मिलाउने हो भने देशमा अहिले प्रहरी र न्यायिक क्षेत्रमा भएको खर्च आधा गर्न सकिन्छ तर हामीबाट त्यो हुँदैन।
सरकारी विद्यालयमा राम्रो पढाइ हुने हो भने निजी विद्यालयको औचित्य समाप्त हुन्छ। वा सरकारी विद्यालयमा पढाइ नराम्रो नै हुने हो भने सरकारी विद्यालय बन्द गरे हुन्छ। गरिब विद्यार्थीलाई पढाइ शुल्क राज्यले तिरिदिए हुन्छ। सुन, न्याय क्षेत्र, सुरक्षा निकायको त्यो मात्र खर्च बचाउने हो भने वर्षको कम्तीमा १० खर्ब रुपियाँउद्योग, बिजुली आदिमा लगाउन सकिन्छ। लगानी सुरक्षित भने हुन आवश्यक छ। यसले देशमा कायालट हुन सक्छ।
गएको वर्ष १५ करोडको गुन्द्रुक, ७ करोडको जनै, ८ करोडको तास, लगभग १ अर्बको कागती विदेशबाट आएको उल्लेख भएको थियो। कापी, कलम, रुमाल, टोपी, खेलकुदमा लगाइने भेस्ट, नेपालमा नपाइने रक्सी आदि विदेशबाट ल्याउनु बाध्यता होला। तर नेपालमा सजिलै पाइने गुन्द्रुक, चामल, कागती, मेवा, चिनी आदि पनि विदेशमा निर्भर हुन पुगेका छौं। जग्गा बाँझा छन्। विदेशमा जाने लेबरहरूले इजरायलसमेतका देशमा गएर कृषि नै गरेका छन्। पुराना घर भत्काउने, सडक बनाउने कार्य गरेका छन्। के यहीँसाग बनाएर गुन्दु्रक बेच्न सकिँदैन ? प्याज महँगो भयो, व्यापक चिन्ता र विरोध हुन्छ। तर एउटा शिक्षित मानिस भाउ बढेकोमा कराइरहँदा उसले बाँझो जग्गामा काम गरेर जागिर खानेभन्दा धेरै कामाउँछु भन्ने सोच्न सक्दैन ?
अधिकांश युवा वा युवती विदेशमा छन्। उनीहरूका बच्चा शहरमा सुखमा राखेर पढाएका छन्। बच्चाले त पढेकै होलान्। तर धेरैजसोको पति–पत्नीमध्ये एक विदेशमा भएकाले यहाँहुनेले शहरमा कसैको रोकछेक नहुँदा र सञ्चारको कारणले अस्थायी पुरुष वा महिला यौनसाथी बनाएका छन्। ती अस्थायी र केही हदसम्म गोप्य साथीहरूमा माया बढ्दै जाँदा विदेशबाट पठाएको रुपियाँदुरूपयोग गरेका छन्। कतिपयले त बच्चा नै छोडेर विदेशबाट पठाइएको पैसासमेत लिएर भागेका छन्। यो अवस्था महिलामा बढी देखिएको छ। शायद पुरुष बढी विदेश गएकोले यस्तो भएको हुन सक्छ। यो एउटा पेसामा विकसित हुँदै छ भने सजग होऔं।
फेसबुकमा जन्मदिनको शुभकामना र निधनको समवेदना लेखेजस्तै गरेर यहाँलेख्नुपरेको हुन्छ। जीवनमा सुख–दुःख साथसाथै छन्। विदेशमा गएकाहरूले कमाएको सम्पत्ति सदुपयोग भएर राम्रो गरिएको पनि छ। त्यो पैसा खत्तम गरेर परिवार नै विघटन पनि भएको छ। बीउ जस्तो रोप्यो फल उस्तै लाग्छ। हामीले पत्नी र सन्तानलाई शहरमा र बाबु–आमालाई वृद्धाश्रममा लग्ने वातावरण बनाउँदै छौं। शायद बाबु–आमालाई विश्वास गरेको भए विदेश जानेको परिवार त्यसरी तहसनहस हुने थिएन।
राज्यले जहिले पनि भाषण गर्नेहरूको जमात तयार गरेको छ। केही राम्रा काम आफूले गरे त ठीकै छ तर राम्रो काम अरूले गरे पनि आफूले गरेको भन्ने र काम गर्न नसकेकोमा अरूको कारणले त्यस्तो भएको भन्ने जमात राज्यसँग र राज्य चलाउन तयार हुनेहरूसँग रहेको छ। जनता चुनावमा रनभुल्ल भएर मत दिन्छन्। चुनाव सकिएपछि जित्नेले राम्रो काम गरेन भनेर विरोध गरी सडकमा उत्रिन्छन्। यही हो नेपालको मुख्य परिदृश्य। हाम्रा नेता ताडका रुखजस्ता अग्ला भएका छन् तर उनीहरूले न सामान्य मानिसलाई फल दिन सकेका छन्, न छहारी नै दिन सकेका छन्। यसो गर्न उनीहरूले चाहेका पनि छैनन्। उनीहरूको काम भनेको जनतालाई मीठो आश्वासन दिने तर सुख जति आफू र आफ्नाहरूलाई दिने नै रहेको छ।
यसको पनि उपचार त छ। जनताले नेता छान्दा राम्रो छान्न सक्नुपर्छ। यसले आधा समस्या समाधान हुन्छ। राम्राका साथमा क्षमतावान् पनि भए २५ प्रतिशत अर्को समस्या समाधान हुन्छ। तर लोकतन्त्र र बहुलवादको विकल्प भने छैन। हाम्रा नेता लोकतन्त्र र बहुलवाद हुँदा त यति बेइमान छन्, यो नभएर एकदलीय व्यवस्था आएमा के होला ? जनताले गलतलाई विनाडर खराब भन्न नसक्दा अझै कति बेइमान होलान् भन्ने ध्यान दिन आवश्यक छ।
कुनै पनि नाममा एकदलीयता कहिल्यै लोकतन्त्रको विकल्प भने हैन। सचेत जनसमुदाय नै सुशासन, विकास र भ्रष्टाचारमुक्त समाजको पहिलो खुड्किलो हो। जतिसुकै राम्रा कुरा गरे पनि लोकतन्त्र र बहुलवादका विरोधीहरू विशेषतः गरिब जनताका सच्चा मित्र हुन सक्दैनन्। तर लोकतन्त्रवादीले गलत गरेर जनतामा लोकतन्त्र नराम्रो हो कि भन्ने भ्रम भने जान सक्छ।

प्रतिक्रिया दिनुहोस्