हङकङमा वयस्कलाई नगद उपहार



हङकङ, (एजेन्सी)
चीनको विशेष प्रशासकीय क्षेत्र हङकङको स्थानीय सरकारले त्यहाँका स्थायी निवासी वयस्कहरूलाई आफ्नो आर्थिक बोझबाट राहत पाउन तथा जीवनस्तर उकास्नका लागि नगद उपहार दिने भएको छ। वार्षिक बजेट कार्यक्रमको एक अंशको रूपमा १८ वर्ष उमेरभन्दा माथिका करिब ७० लाख वयस्कलाई जनही १० हजार हङकङ डलर प्रदान गरिने भएको छ।
हङकङको अर्थतन्त्र हालै त्यहाँदेखापरेको कोरोना भाइरसको महामारीले पनि नराम्ररी प्रभावित भएको छ। हङकङमा ८१ जनालाई उक्त भाइरस संक्रमण भएको तथा २ जनाको ज्यान गएको आधिकारिक पुष्टि भइसकेको छ। वित्तीय मन्त्री पाउल चानले बुधबार भनेका छन्– ‘यो वर्ष हङकङको अर्थतन्त्रले थुप्रै समस्याहरू भोग्नुपरेको छ।
त्यसैले, वयस्कहरूलाई आर्थिक बोझबाट मुक्त र तिनीहरूको क्रयशक्ति प्रवर्धन गर्नका लागि मैले यो कार्यक्रम तर्जुमा गरेको हुँ। हिंसात्मक प्रदर्शन र भाइरसको प्रभाव न्यूनीकरणका लागि तयार भएको १ सय २० अर्व हङकङ डलर बराबरको राहत कार्यक्रमअन्तर्गत यसरी नगद उपहार वितरण गरिन लागेको हो।’
सरकारले सार्वजनिक घरभाडा कम गर्नुका साथै तलब र सम्पत्ति करमा पनि छुटको व्यवस्था गरेको छ। सन् २०२१ मा हङकङको बजेट घाटा झन्डै १८ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
शुरूमा हङकङले कोरोना भाइरसको महामारीको कारण मर्कामा परेका होटेल र रेस्टुरेन्टलगायत अन्य पर्यटन व्यवसायीहरूलाई मात्र नगद वितरण गर्ने जनाएको थियो।
हङकङका अभियुक्तलाई थप मुद्दा चलाउनका लागि मुख्य भूमि चीनमा सुपुर्दगी गर्ने विषयमा प्रस्तावित विधेयकविरुद्ध शुरू भएको  प्रदर्शन पछि गएर थप प्रजातान्त्रिक अधिकारको मागमा केन्द्रित हुन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्