महानगरको डोजर सुकुम्बासी बस्तीमा



नेपाल समाचारपत्र, विराटनगर
सार्वजनिक बाटो ओगटेर बनाइएका घर–टहरा विराटनगर महानगरले डोजर लगाएर भत्काएको छ। महानगरस्थित–१ पोखरिया भट्टाचोकमा सडक क्षेत्रमा बनेका सुकुम्बासीका घर–टहरामा महानगरपालिकाले डोजर चलाएको हो।
सुकुम्बासीका नाममा सार्वजनिक सडक नै अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काएर बाटो खाली गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताउनुभयो। ‘जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे पनि अटेर गरेपछि अतिक्रमित बाटोको जमिन खाली गर्नुपरेको हो’, अधिकारीले भन्नुभयो– ‘महानगरको आग्रह अटेर गर्ने र वार्तामा समेत नबस्ने गरेका कारण लामो समयदेखि महानगर आजित भएको थियो।
महानगरले दिएको अल्टिमेटमलाई बेवास्था गरेपछि डोजर प्रयोग गरेर अतिक्रमित भएको सरकारी जमिन संरक्षण गरेका छौं।’ टहरा भत्काउन पुगेको टोलीलाई स्थानीय बासिन्दाले अवरोधको प्रयास गरेका थिए। त्यसक्रममा नगर रक्षक र प्रहरीको टोलीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा थप मद्दतका लागि प्रहरी टोली पुगेपछि बल प्रयोग गरेर सडकको उत्तरतर्फ सार्वजनिक जग्गामा बनाइएका घर भत्काइएको हो।
सुकुम्बासीले बनाएका टहरापछाडि व्यक्तिको जग्गा रहेकाले उनीहरूको योजनामा घर–टहरा भत्काइएको पीडितहरूले आरोप लगाएका छन्। सार्वजनिक जग्गामा सुकुम्बासी बसिदिएपछि पछाडिका घरसम्म पुग्ने बाटो नहुँदा अहिले सुकुम्बासीलाई घरबारविहीन बनाइएको स्थानीय जय कामतले दाबी गरे।
स्थानीय बासिन्दाले नजिकैको परोपकार घाटमा रहेको चार बिघा जग्गामा बसेका सुकुम्बासी परिवारलाई नहटाएको तर सो क्षेत्रका सुकुम्बासीलाई कुनै विकल्प नदिएको भन्दै आपत्ति जनाएका छन्। सडकमा पर्ने डेढ कठ्ठा सार्वजनिक जग्गामा संरचना बनाएर सुकुम्बासी बसेका थिए। उनीहरूलाई भने हटाइएको छैन।
टहरा भत्काएपछि ६२ वर्षीया बीबी हसिना खातुनले अब कहाँगएर बस्ने भन्ने चिन्ता थपिएको बताउनुभयो। ३५ वर्षदेखि बसेको स्थानबाट हटाएपछि दुःख पाएको उहाँको भनाइ छ। नेपाल भूमिहीन सुकुम्बासी संगठन विराटनगर महानगर कमिटीका अध्यक्ष बुद्धिमान लिम्बुले भूमिहीन सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गरिनुपर्ने, हटाउनुअघि नै सुकुम्बासीलाई पुनर्बासको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्