जातीय पहिचानका लागि सगरमाथा आरोहण



हेटौंडा, (नेस)
नेपाल रेकर्ड कायम गर्दै यस वर्ष १ सय ५० जनाले सगरमाथा आरोहण गर्ने भएका छन्। जसमा मकवानपुरका रामकुमार चेपाङ पनि हुनुहुन्छ। मकवानपुरका सम्भवतः पहिला उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने उद्घोष गर्नुभएको हो।
विकट कैलाश गाउँपालिका–७ डुम्रेका ३१ वर्षीय चेपाङ आफ्नो समुदायको पहिलो सगरमाथा आरोही बन्ने प्रयासमा हुनुहुन्छ। उहाँले यसअघि विभिन्न हिमालको सफल आरोहण गरिसक्नुभएको छ। सगरमाथाकै पनि ६ हजार मिटरको उचाइसम्म उहाँपुगिसक्नुभएको छ।
५ वर्षदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्दै आउनुभएका चेपाङले जातीय पहिचानका लागि सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको बताउनुभयो। देशको लोपोन्मुख चेपाङ जातिका पहिलो आरोहीका रूपमा चेपाङले आरोहणको तयारी गरे पनि आर्थिक अभावका कारण सगरमाथाको चुचुरामा पुग्ने सपना पूरा नहुने हो कि भन्ने चिन्ताले उहाँलाई सताउन थालेको छ।
आरोहणअघि पर्यटन मन्त्रालयलाई बुझाउनुपर्ने शुल्क र आवश्यक सुरक्षा सामग्रीसहित उपकरण खरिद गर्न २६ लाख रुपियाँखर्च हुने उहाँले बताउनुभयो। उहाँलाई सगरमाथा आरोहणका लागि इन्द्रसरोवर गाउँपालिकाले ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ। आरोहणका लागि कम्मर कसिरहनुभएका चेपाङलाई आर्थिक स्रोत जुटाउन चेपाङ संघको अगुवाइमा संविधानसभा सदस्य गोबिन्दराम चेपाङ खटिनुभएको छ।
विदेशी नागरिकलाई हिमाल आरोहण गराउँदै आएको हिमालय गाइड नेपालले ४ हजार डलर सहयोग घोषणा गरिसकेको छ। सहयोगीका रुपमा सगरमाथा गइदिन विदेशी पर्यटकले आग्रह गरिरहे पनि आफैं आरोहीका रुपमा सगरमाथा चढेर चेपाङ संघको नाम राख्ने उहाँको सपना छ।
ट्रेकिङ क्षेत्रमा काम गर्दै आएकाले आफ्नो रहर र अति सीमान्तकृत चेपाङ समुदायको पहिचानका लागि भ्रमण वर्षलाई लक्षित सगरमाथा आरोहणको योजना बनाइएको उहाँले बताउनुभयो।
‘सगरमाथाको चुचुरोमा पुगेर नेपाल चेपाङ संघको झण्डा फहराउने सपना देखेको छु, सबैको साथ र सहयोग पाए सपना पूरा हुनेछ’, उहाँले भन्नुभयो– ‘९९ वर्षसम्म ओढारमा बसेका मकवानपुर भार्ताका जयपति चेपाङको तस्वीर र बागमती प्रदेश सरकारको झण्डा सगरमाथाको चुचुरोमा पु¥याउने सपना छ।’
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने सिजन चैतदेखि जेठसम्म उपयुक्त मानिन्छ। काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँले लुक्लाका लागि हवाइयात्रा गर्ने र लुक्ला पुगेसँगै खच्चडको सहायतामा यात्रा शुरू हुनेछ।
नेपालका विभिन्न जनजातिमध्ये आधुनिकीकरणको रेखाबाट अलि पर रहेको जनजाति चेपाङ हो। चेपाङहरू विकास र शिक्षामा पनि पछाडि परेका छन्। सामान्य खेतीपाती, पशुपालन, चोया तथा काठको घरेलु सामान बनाएर उनीहरू गुजारा चलाउँछन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जनजातिमध्ये चेपाङ एक हो। २०६८ को जनगणना अनुसार चेपाङको जनसंख्या ६८ हजार ३ सय ९९ छ।

प्रतिक्रिया दिनुहोस्