मेड इन नेपाल एक्स्पोजरमा सेनएड



विजय नेपाली, पोखरा ।
पोखरामा जारी क्यान इन्फोटेक मेलाभित्र विभिन्न कम्पनीका विभिन्न विज्ञान र प्रविधिहरू राखिएका छन्। तिनै प्रविधिमध्ये स्टल नं.३६ मा प्रगति इंग्लिस बोर्डिङ स्कुलको व्यानरमुनि ३ जना छात्राहरू बसेका छन्।
लाखौँरुपियाँपर्ने विभिन्न कम्प्युटर, प्रविधिहरूको बीचमा एउटा सामान्य देखिने मेसिन राखिएको छ। त्यहाँबसेका ती छात्राहरूको समान्य मेसिनको काम भने महिलाको जीवनसंग गाँसिएको छ। ३ जना छात्रा मिलेर बनाएको उक्त मेसिनको नाम हो सेनएड। सेनएड मेसिन महिलाको स्वास्थ्य र जीवनसंग गाँसिएको छ।
सेनिटरी र प्याड शब्दलाई समिश्रण गरी राखिएको नाम हो सेनएड। सेनएडले चाहेको बेलामा प्याड दिन्छ। महिलामा हुने महिनावारीको समस्याले अधिकांश महिलालाई निकै समस्यामा पार्ने गर्दछ। महिलाको समस्यालाई नै हेरेर प्रगति स्कुलका ३ जना बालिकाले सेनएडको निर्माण गरे।
जसले कार्डको माध्यमबाट प्याड दिन्छ। मेसिन बनाउने मध्येकी एक रीतिका भन्छिन्– ‘हामीलाई विद्यालयमा निकै समस्या हुन्छ, महिलाको समस्या भएका कारणले शिक्षकलाई हामी भन्न सक्दैनौं त्यसैले नै हामीले हाम्रो सहजताका लागि यो सेनएड बनाएका हौँ।’ रीतिका बल्ल १५ वर्षकी हुन् उनका अन्य साथी प्रार्थना थापा र सचिना थापा पनि १५ र १४ वर्षका मात्र छन्।
तर उनीहरूको यो सेनएड नेपालका लागि मात्र नभएर विश्वकै लागि निकै महत्व र आवश्यकता भएको मेसिन बन्न सक्छ जब राज्यले यी छात्राको प्रविधिलाई निमार्ण गर्न सक्छ। यो नेपालकै उत्पादन हो यसले विश्वकै महिलाका लागि निकै महत्व राख्छ।
१५ वर्षीया प्रार्थना भन्छिन्– ‘हामीले धेरै प्रकारका मेसिन देखेका छौँतर महिलाको मुख्य समस्याका लागि भने छैन, यो समस्याको समाधान गर्न हामीले सक्छौँ।’ त्यस्तै १४ वर्षीया सचिना थापा भन्छिन्– ‘हामी विद्यार्थीहरूका लागि मात्र नभएर पुरै महिलाका लागि यो महत्त्वपूर्ण रहेको छ।’ सेनएड मेसिन हरेक विद्यालयमा राखे छात्रा तथा शिक्षिकाका लागि समेत निकै फलदायी हुने विद्यार्थीको भनाइ रहेको छ। सेनएडले हालसम्म ३ अवार्डसमेत पाएको छ।
सेनएडले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा योङ इनोभेटर्स अवार्ड, नेसनल भविष्य स्टिम च्यालेन्ज राष्ट्रिय तहमा बेस्ट प्रिभेन्सन अवार्ड र प्रदेश तहमा कम्युनिटी इम्पेक्ट अवार्ड प्राप्त गरिसकेको छ। विद्यालयमै महिनावारी भएका छात्राहरूले निकै कष्ट खेप्नुपर्ने अवस्थामा यो मेसिनले निकै राम्रो काम गर्छ र छात्रालाई उक्त समस्याबाट बाहिर ल्याउँछ।
मेलामा डेमोका लागि एटीएम कार्डको प्रयोग गरे पनि विद्यालयमा भने परिचय पत्रको प्रयोग गर्ने गरी बनाउने योजना रहेको छात्राहरूको भनाइ रहेको छ। परिचय पत्रमा रहेको क्युआर कोडबाट प्याड निकाल्न सकिने उनीहरूले जानकारी दिए। बाहिर पनि पैसाभन्दा बढी कार्डको प्रयोग गर्ने भएको कारणले पनि कार्ड राख्ने सिस्टम निमार्ण गर्न लागेको रीतिकाले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्