महाशाखामा नयाँमेस भवन बन्दै



नेपाल समाचारपत्र, काठमाडौं ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले महानगरीय ट्राफिक महाशाखा रामशाहपथको हाताभित्र नवनिर्माण हुने प्रहरी मेस भवनको बुधबार आयोजित एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो। साथै, उहाँले ट्राफिक प्रहरी महाशाखालाई १ थान वासिङ मेसिनसमेत हस्तान्तरण गर्नुभयो।
सो अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले प्रहरीको मेस सुधार गर्ने क्रममा नयाँभवन निर्माण गर्ने लक्ष्य अनुरूप ट्राफिक महाशाखामा नयाँभवन निर्माण गर्न लागिएको जानकारी दिँदै प्रहरी कर्मचारीहरूको ब्यारेक, पानी, शौचालयलगायतको व्यवस्थापनमा आफैले भूमिका खोज्नुपर्ने बताउनुभयो।
विद्यमान समस्याहरू समाधान गर्दै प्रहरी कर्मचारीहरूका लागि सुविधाहरू थप्दै लैजाने लक्ष्यअनुरूप ट्राफिक प्रहरी महाशाखालाई वासिङ मेसिन हस्तान्तरण गरिएको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा उक्त महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकालले लुगा धुन र नुहाउन पनि फुर्सद नहुने अवस्थामा उक्त वासिङ मेसिनले ट्राफिक प्रहरीलाई निकै सहज हुने विश्वास व्यक्त गर्नुभयो।
साथै, मियामा इलेक्ट्रिक स्कुटर सोरुमले दिएको १ थान इलेक्ट्रिक स्कुटरले सवारीसाधनमा आरक्षण सिट लागू भए नभएको अनुगमनका लागि खटाइने उहाँले जानकारी दिनुभयो।
सो अवसरमा प्रहरी उपरीक्षक राजकुमार बैदवारले प्रहरी प्रधान कार्यालयबाट विनियोजित १२ लाख ७३ हजार ८ सय ८६ रुपियँँको लागतमा ४५ दिनभित्र नै उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो। उक्त मेस भवन सुविधा सम्पन्न, वातावरणमैत्री, स्वच्छ र सफा हुने सो कार्यक्रममा जानकारी गराइयो।

प्रतिक्रिया दिनुहोस्