९ हजार ३९४ शाखामार्फत् ७४५ स्थानीय तहमा वित्तीय पहुँच



काठमाडाैँ, (नेस) ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया शुरू गरेपछि हालसम्म १ सय ८५ बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा गएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म मर्जर तथा प्राप्तिमा गएका १ सय ८५ वटा वित्तीय कम्पनीमध्ये १ सय ४० कम्पनीको इजाजत खारेज भई ४५ वटा संस्था मात्रै कायम भएका छन्। मर्जर तथा प्राप्तिमा गएकामध्ये अधिकांश लघुवित्तहरू रहेका छन्। मर्जर तथा प्राप्ति प्रक्रियापछि पुस मसान्तसम्म १ सय ६४ बैंक तथा वित्तीय संस्था कायम रहेको राष्ट्र बैंकले जनाएको छ। तीमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त र १ पूर्वाधार विकास बैंक रहेका छन्।
चालू आर्थिक वर्षको छ महिनाको अवधिमा वाणिज्य बैंकको शाखा ४ हजार ११, विकास बैंकको १२९३, फाइनान्स कम्पनीको २२९ र लघुवित्तको ३ हजार ८ सय ६१ वटा शाखा गरी बैंक तथा वित्तीय संस्थाको ९ हजार ३ सय ९४ शाखामार्फत् सेवा प्रवाह भएको छ। असार मसान्तसम्म कुल शाखा ८ हजार ६ सय ८६ रहेको थियो।
यस बीचमा वाणिज्य बैंकको शाखा ४ सय २६, विकासको २९, फाइनान्सको २४ र लघुवित्तको २ सय ३२ शाखा थपिएका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार पुससम्म ७ सय ५४ स्थानीय तहमध्ये ७ सय ४५ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका छन्।

प्रतिक्रिया दिनुहोस्