विमान चालक बन्ने सपना देखेका फाइनान्सका “पाइलट”



मिलेको जिउडाल, आकर्षक अनुहार र आत्मविश्वासी सरोजकाजी तुलाधर काठमाडौंका रैथाने हुनुहुन्छ। सानोमा पाइलट बन्ने सपना बुन्नुभएका उहाँविमान उडाउने पाइलट त बन्नुभएन तर वित्तीय संस्थाको भने पाइटल बन्नुभयो। नेपाल वित्तीय संस्था संघका अध्यक्षसमेत रहनु भएका सरोजकाजी तुलाधर हाल गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्छ। उहाँसँग मुलुकको वित्तीय अवस्थादेखि व्यक्तिगत रुचीलगायतका विषयमा
नेपाल समाचारपत्रका लागि परिवर्तन देवकोटाले गरेको कुराकानीः
वित्तीय क्षेत्रमा तपाईंको प्रवेश कसरी भयो ?
जिन्दगीमा सबै कुरा आफूले सोचेजस्तो हुँदो रहेनछ। कतिपय कुरा भाग्यमै लेखेर ल्याएको हुन्छ भन्छन्, मलाई पनि हो जस्तो लाग्छ। सानो हुँदा पाइलट बन्ने मेरो ठूलो सपना थियो। तर, मेरी आमालाई छोरो आकाशमा उडेको मन नपरेको भएर विज्ञान पढ्न पाइँन। विज्ञान नै नपढेपछि त पाइलट बन्ने कुरा भएन। त्यसपछि कमर्स पढेंँ। कमर्स पढेपछि यसको क्षेत्र नै वित्तीय भइहाल्यो।
म भारतको राजधानी नयाँदिल्ली पढेर फर्किदा चौधरी गु्रपमा भ्याकेन्सी खुलेको थियो। मैले जागिर खाएको थिइन। आफ्नो मान्छे नभइ जागिर दिँदैन भन्ने सुनेको थिएँ। अनि कस्तो हुँदो रहेछ भनेर म्यानेजरको लागि आवेदन दिएको थिएँ। अन्तरवार्ता दिएँ, पास भएँ। अनि जागिरे जीवन शुरू भयो। म दिल्लीमा पढ्न जानु अगाडि लिटिल एन्जल्स स्कुलमा जिम्न्यास्टिक इन्स्टक्चर भएर काम गरेँ। त्यतिबेला लिटिल एन्जल्स स्कुलको स्थापना भएको केही वर्षमात्रै भएको थियो। त्यहाँको प्रिन्सिपल उमेश श्रेष्ठ सरले मेरो गुरुलाई तिम्रो वेस्ट स्टुडेन्टलाई जिम्न्यास्टिक सिकाउन पठाइदेऊ भन्दा मेरो गुरुले मलाई पठाउनु भयो। मैले आफंैले काम गरेर कमाएको अर्थात मेरो पहिलो जागिर त्यहि नै हो। पछि म खेललाई निरन्तरता दिन सकिन।
यो भन्दा पहिले अन्य वित्तीय कम्पनीमा आबद्धता थियो कि थिएन ?
दिल्लीमा अध्ययन गरेर फर्किएपछि चौधरी गु्रपको मारुती गाडीको अरूण इन्टरकन्टिनेन्टलमा थिएँ। त्यहाँकेही समय बसेपछि फाइनान्स कम्पनीमा आबद्ध भएको हुँ।  त्यो बेलामा फाइनान्स कम्पनीलाई भर्खर लाइसेन्स दिन शुरू भएको थियो। आफूलाई मन परेको फिल्ड भएकाले फाइनान्स कम्पनी खोलेर त्यसमा लाग्नुपर्छ भन्ने हिसाबले गुडविल फाइनान्समा प्रोमोटरको रुपमा शुरू गरेको हुँ।
फरक प्रसंग, खेलकुदको क्षेत्रमा पनि तपाईंको रुचि देखियो, यसबारे संक्षिप्तमा बताइदिनुहोस्।
बाल्यकालको रमाइलो भनेकै फिजिकल एक्ससाइज हो। त्यो फिजिकल एक्ससाइजकै क्रममा जिम्न्यास्टिमा सिक्न गएको हुँ। ख्याल–ख्यालमै खेल्दाखेल्दै पछि नेसनल लेभलसम्म पुगेँं। त्यो चाहिंँ आपसेआप भएको हो। मलाई लाग्छ त्यो बेलामा खेलकुदको स्यान्र्डर्ड ह्वात्तै बढेको थियो। राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव शरदचन्द्र शाह हुनुहुन्थ्यो। मैले खेलकुद क्षेत्रमा आदर गर्ने व्यक्तित्व शरदचन्द्र शाह सर हुनुहुन्छ। खेलकुदमा उहाँको समर्पण मैले आफ्नो आँखाले नजिकबाट नियालेको छु। त्यतिबेला खेलकुदमा अहिलेको जस्तो अवस्था थिएन। खेलकुदबाट जीविकोपार्जन गर्न एकदमै गाह्रो थियो। खेलकुद परिषद्मै प्रशिक्षकको जागिर पाएको अवस्थामा जीविकोपार्जन गर्न सम्भव हुन्थ्यो, अन्यथा गाह्रो थियो। यद्यपि, खेलकुदलाई पेसा बनाउने सोच मेरो पहिलेदेखि नै थिएन। त्यसैले कोचको ट्रेनिङको अफर पाउँदा पाउँदै पनि मैले त्यसलाई त्यागेँं।
अब वित्तीय क्षेत्रतर्फ नै फर्किऊ, वर्तमान परिवेशमा समग्रमा वित्तीय कम्पनीको अवस्था कस्तो रहेको छ ?
समग्रमा फाइनान्स कम्पनीहरूको क्षेत्र बैंकिङ क्षेत्रको भन्दा सानो छ। तर, हाम्राे स्टाटस चाहिँबलियो छ। सम्पूर्ण वित्तीय कम्पनीहरूको स्टाटस बलियो छ र अझै बलियो हुँदै गइरहेको छ। सबै संस्थाको वृद्धि विकास पनि राम्रँेसँग हुँदै गइरहेको छ।
पहिले वित्तीय ‐फाइनान्स) कम्पनीहरू ७० को हाराहारीमा थिए। तर, अहिले घटेर दुई दर्जनको हाराहारीमा छन्, यसको कारण के होला ? यसको अबको अवस्था कस्तो रहला ?
कतिपय संस्था खोल्दा यस क्षेत्रमा केही न केही गर्छु भनेर खोलिने गरिन्छ। कतिपय अरूको देखासिकीमा खोलिन्छन्। यसर्थ, संस्थाको स्थापना गर्दाको अवस्था धेरै फरक हुने रहेछ। जसले देखासिकीमा संस्था खोल्छ, उ विलय भएर गएको अवस्था छ। जसले यही क्षेत्रमा केही गर्छु भन्ने मनसायका साथ संस्था खोल्छ, उसले स्थायी भइरहेको अवस्था छ।
फाइनान्स कम्पनीहरू अहिले संकटमा परेको अवस्था हो त ?
फाइनान्स कम्पनीहरूको संख्या घटेको कारणले अहिले बाँकी रहेका कम्पनीलाई काम गर्न अझ सहज भएको छ। पहिला बचतका लागि पनि, कर्जाका लागि पनि प्रतिस्पर्धा धेरै हुन्थ्यो। तर, अब बचतका लागि प्रतिस्पर्धा कम भएको छ भने कर्जाका लागि मात्रै प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ। यसो हुँदा कम्पनीलाई काम गर्न झनै सहज हुन्छ।
अहिलेको सन्दर्भमा फाइनान्स कम्पनीको भूमिका के हो ? यहाँकस्ता ग्राहक आउँछन् ?
आजसम्म कर्जा नलिएका मानिसको शुरूआती संस्था फाइनान्स कम्पनी हुन जान्छ। कर्जा कसरी लिनुपर्छ, यसका प्रक्रियाहरू के–के हुन्छन् भन्नेलगायतका कुराबाट सबैभन्दा बढी जोखिम बहन गर्ने संस्था भनेकै फाइनान्स कम्पनी हुन्। वित्तीय चेतना जगाउनेदेखि साक्षरता प्रदान गर्नेसम्मका कार्यमा फाइनान्स कम्पनी सहभागी हुन्छ।
वित्तीय चेतनाकै कुरा गर्दा कत्तिको सहज पाउनुहुन्छ ?
हामी काठमाडौंमा वित्तीय चेतनाको स्तर बढी होला भन्ने सोच्छौं। तर, त्यस्तो देखिएको छैन। काठमाडौंमा भन्दा बढी चेतना बाहिरी जिल्लामा रहेको देखियो। काठमाडौंमा बस्ने मानिस र विद्यार्थीलाई पैसाको मूल्यप्रति त्यति चासो पाइएन। जति पैसाको चेतना बाहिरी जिल्लाका मानिसमा छ, शहरी इलाकामा त्यति कम छ। आफूले कति कमाएको छु, त्यसबाट कति बचत गर्ने र बाँकी बचेको कति खर्च गर्ने भन्ने कुरामा ध्यान दिने बानी यहाँदेखिएन। यहाँत पहिला चाहिंँदो खर्च गर्ने र पछि बचेको रकममात्रै बचत गर्ने प्रवृत्ति देखियो।
वित्त संस्थाहरूको प्रतिनिधित्व गर्ने एसोसिएसनको अध्यक्षको रूपमा पनि हुनुहुन्छ, अहिले एसोसिएसनले के गर्दैछ ?
हामीले सर्वप्रथम आफ्ना कर्मचारीको वृत्ति विकासमा ध्यान दिएका छौं। विभिन्न संस्थाले तालिम आयोजना गर्थे, क, ख, ग सबै वर्गलाई भनेर। तर, तीमध्ये कतिपय हामीलाई काम नलाग्ने हुन्थे। अहिले हामीले गरिरहेकाले हामीलाई मात्रै काम लाग्नेछ। पहिले एउटा संस्थाबाट अर्को संस्थामा कर्मचारी तानेर लैजाने अस्वस्थ प्रतिस्पर्धा थियो, त्यो कामलाई हाम्रो एसोसिएसनले बन्द गरिदिएको छ। कम्पनी छाडिसकेको अवस्था छ भने त लैजाँदा केही हुँदैन। नत्र गाह्रो हुन्छ।
वित्तीय संस्थाहरूले सामना गर्दै आएको अन्य चुनौती के छन् ?
हामीले वर्तमान समयमा अस्थित्व कायम राख्ने र प्रतिस्पर्धामा उत्रने कि कुनै बलियो संस्थामा विलय हुने भन्ने विषय नै अहिलेको मुख्य चुनौती हो। हामीले नै २५ २० देखि २५ वर्षसम्मको अनुभव सम्हालेका छौं। हामीले आफैंले सेवा दिनुपर्छ।
अन्त्यमा, तपाईं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहनुभएको गुडविल फाइनान्सको अवस्था चाहिँकस्तो छ ?
हेर्नुहोस्, म अरूभन्दा फरक छु। आफूलाई आफूले नै राम्रो भन्नु भन्दा पनि अरूले के सोच्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यो हेर्ने सूचकहरू के हुन्छन् भने, यहाँआएका क्लाइन्टहरू कति छन् ? शुरूमा यहाँआएका क्लाइन्टहरूले अहिलेसम्म यो संस्था छाडेका छैनन्। क्लाइन्टहरूले विश्वास गरिरहेका छन्। कोही पनि सडकमा पुग्नुपरेको छैन भने कम्पनी कस्तो छ आफैं बुझ्न सकिन्छ। हामीले ग्राहकको सफलतालाई नै संस्थाको सफलता मान्ने गरेका छौं।

प्रतिक्रिया दिनुहोस्