नेकपा रुपन्देहीले एकता र जनसम्बन्ध विस्तार अभियान चलाउने



बुटवल।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले तीनमहिने विशेष अभियान सञ्चालन गर्नेभएको छ । आज बुटवलमा बसेको जिल्ला पार्टीको तेस्रो पूर्ण बैठकले तीनमहिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने लगायतका विभिन्न निर्णय गरेको हो ।

पार्टीका केन्द्र र प्रदेश कमिटीका हालै सम्पन्न बैठकले सबै ७७ वटै जिल्लामा अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै आज बसेको रुपन्देही पार्टीको बैठकले यस्तो निर्णय पार्टीका जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिनुभयो ।

नेकपा रुपन्देहीका संयोजक शिवराज सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको बैठकले विभिन्न विभागलाई पूर्णता दिनुका साथै सल्लाहकार परिषद् गठन र सदस्यहरु मनोनित गरेको छ । रुपन्देहीमा पार्टी र पार्टीले नेतृत्व गरेका विभिन्न तहमा सरकारका कामका बारेमा जानकारी गराउनुका साथै सरकारका र पार्टीका कामलाई जनस्तरमा पु¥याउने गरी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख चापागाइँले जानकारी दिनुभयो ।

नेकपा रुपन्देहीले करिब ८०० अगुवालाई कमिटीमा समावेश गर्दै सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, २८ वटा विभाग, प्रतिनिधि तथा प्रदेशका निर्वाचन क्षेत्रीय कमिटी, लेखा समिति, निर्वाचन समिति र संयन्त्र निर्माणका विभागमार्फत परिचालन गरिएको प्रचार विभाग प्रमुख चापागाइँले बताउनुभयो ।

जनस्तरमा जाऔँ : इन्चार्ज पोखरेल

बैठकमा नेकपाका स्थायी समिति सदस्य, प्रदेश नं ५ का इन्चार्ज शङ्कर पोखरेलले सम्बोधन गर्नुहुँदै पार्टीले नेतृत्व गरेका तीनै तहमा महत्वपूर्ण काम भएको तर पार्टी कार्यकर्ताले त्यसको सही ढङ्गले जस लिन नसकेको गुनासो गर्नुभयो । प्रदेश नं ५ मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “तीनै तहका सरकारले अहिलेसम्म भए गरेका कामको सूची र टिपोट मात्रै बनाएर भए पनि जनस्तरमा जानुस् ८० प्रतिशत गुनासाको सम्बोधन हुन्छ ।”

तीनमहिने अभियानमा पार्टीका हरेक नेता कार्यकर्ता आआफ्नो भूगोल र कार्यक्षेत्रमा अनिवार्य रूपमा सहभागी हुन उहाँले निर्देशन दिनुभयो । समुदाय केन्द्रित अभियानलाई प्रभावकारी बनाउन सक्दा नै सरकारले गरेका कामको प्रचार हुने र पार्टीले अपनत्व लिन सहज हुने उहाँको भनाइ थियो । बैठकलाई पार्टी स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय कमिटीका सदस्य डिलाराम आचार्य लगायतले सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्