हेटौंडाको बजेट २७ करोडले बृद्धि



रोशन पराजुली,हेटौंडा ।

हेटौंडा उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा केही वृद्धि भएको छ । चालु आर्थिक वर्षमा कुल एक अर्ब ८१ करोड बजेट विनियोजित गरिएको थियो ।तर, उक्त बजेटमा बृद्धि भएर २ अर्ब ८ करोड रुपियाँ पुगेको छ । वाह्य र आन्तरिक स्रोतको आम्दानीमा बजेट बृद्धि भएको हो । मंगलबार भएको छैठौं नगरसभा बैठकमा यसबारे जानकारी दिइएको छ । नगरसभाबाट मेयर हरिबहादुर महतले पेश गरेका विभिन्न प्रस्ताव स्वीकृत गरिएको छ ।

चालु आर्थिक वर्षका लागि साबिक नगरसभाबाट पारित नीति तथा कार्यक्रम र संशोधित बजेटले नगरबासीका आवश्यकता परिपूर्ति भएर जीवनस्तरमा गुणात्मक सुधार हँुदै जाने वजेट वक्तव्य प्रस्तुत गर्दै उपमहानगर उपमेयर मीनाकुमारी लामाले बताउनुभयो ।पूर्वाधार क्षेत्रतर्फको चालु आर्थिक वर्षको कुल बजेट ७६ करोड २७ लाख ७ हजारका ५ सय ५८ योजना रहेकोमा हालसम्म २९ करोड ४० लाख ८८ हजार बराबरका ३ सय २५ योजना सम्झौता भइसकेको उहाँले बताउनुभयो ।

सम्झौता भएका योजनामध्ये सडक स्ल्याब ढलानतर्फ ६ किलोमिटर, विद्यालय पूर्वाधारतर्फ ३ वटा, खेलमैदान निर्माणतर्फ २ वटा, खानेपानी योजनातर्फ १ वटा, मन्दिर पूर्वाधारतर्फ १ वटा, पर्यटन पूर्वाधारतर्फ १ वटा, तटबन्धतर्फ १ वटा र सुरक्षा पूर्वाधार (सीसी क्यामेरा जडान) तर्फ १ वटा सम्झौता सम्पन्न भएको छ । यसबाट कुल ४ करोड २३ लाख ७९ हजार बराबरका ७३ योजना सम्पन्न भइसकेका छन् ।

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगर क्षेत्रभित्र प्रदेशस्तरीय भौतिक पूर्वाधार निर्माणका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट माग भएबमोजिम नगर क्षेत्रका २० स्थानका जग्गाक्षेत्र उपलब्ध गराउने निर्णय गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाइएको उपमेयर लामाले बताउनुभयो ।

दाहसंस्कारलाई व्यबस्थित र वातावरणमैत्री बनाउन हेटौंडा–१० स्थित राप्ती नदीकिनारमा मेसिन जडान गर्ने कार्य चालु आवको अन्त्यसम्ममा सम्पन्न गर्ने गरी खरिद प्रक्रिया सम्पन्न भएको छ । प्रस्तावित बाइपास सडकको रेखांकनमा स्पष्टता भएपश्चात् जडान कार्य अघि बढाइने भएको छ ।युवा तथा बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि उपमहानगरपालिकाले विभिन्न खेलकुद क्रियाकलाप सञ्चालन गर्न हेटौंडा–८ को चन्द्रोदय माविको चौरमा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गर्न लागेको प्यारापिटसहित खेलकुद प्रशिक्षण केन्द्र निर्माणका लागि टेण्डर प्रक्रियामार्फत् पर्न आएका बोलपत्रदाताको मूल्यांकनको क्रममा छ ।

व्यबस्थित बस टर्मिनल भवन तथा बसपार्क निर्माणका लागि ९३ करोड ११ लाख ५६ हजार बराबरको बिस्तृत परियोजना प्रस्ताव तयार भइसकेको छ । जसमध्ये पहिलो चरणअन्तर्गत् ५९ करोड ५७ लाख ५४ हजार रकमबाट दुई तला बेसमेन्ट पार्किङ बसपार्क सञ्चालन तथा व्यबस्थापन र व्याबसायिक प्रयोजनका लागि दुई तलासमेत गरी ४ तले भवन निर्माणका लागि बोलपत्र आह्वान प्रक्रिया अगाडि बढाइएको उपमेयर लामाले बताउनुभयो ।

हेटौंडा–४ स्थित बासुदेव सभागृह रहेको स्थानमा आधुनिक, समयसापेक्ष सुबिधायुक्त सभागृहसहित शहीद बासुदेव बहुउद्धेश्यीय व्याबसायिक कम्प्लेक्स र भ्युटावर निर्माणका लागि बिस्तृत परियोजना तयार भइरहेको अबस्था छ ।पुरानो बसपार्क क्षेत्रस्थित १० नम्बर वडा कार्यालय भवन रहेको स्थानमा आधुनिक सुबिधायुक्त संरचनासहित व्याबसायिक कम्प्लेक्स भवन निर्माणका लागि पनि बिस्तृत परियोजना तयार पार्ने कार्य भइरहेको छ ।

हेटौंडा–२ कार्यालयपछाडिको खुलामञ्च रहेको क्षेत्रमा करिब १ सय ५० सिट क्षमता भएको सभागृहका साथै कार्यालय परिसरको खुला भाग व्यबस्थापन गर्ने गरी बिस्तृत परियोजना तयार पार्ने कार्य पनि भइरहेको छ । खेलदकुद प्रवद्र्धनअन्तर्गत् एड्भेञ्चर खेललाई प्रोत्साहन गर्न उपमहानगरपालिका–१८ को गुम्बाडाँडा गोरक्षताल क्षेत्रमा १६ किमी लामो साइकलट्रयाक निर्माणका लागि सम्झौताको क्रममा छ ।

कर्रा करिडोर निर्माण आयोजनाको बिस्तृत परियोजना प्रस्ताव तयार भइसकेको र चालु आर्थिक बर्षमा पहिलो चरणको निर्माणअन्तर्गत् २ करोडमा निर्माण कार्य अगाडि बढाउन बोलपत्र आह्वान भएको र आगामी वर्षमा समेत निरन्तरता दिएर कर्रा कोरिडोर सम्पन्न गरिनेछ ।जोखिमपूर्ण आवागमन गर्नुपर्ने बाध्यता अन्त्य गर्न नगर क्षेत्रभित्र सञ्चालनमा रहेका जीर्ण काठेपुल बिस्थापन गर्ने कार्यअन्तर्गत् गत आर्थिक वर्षमा वडा–१८ को एउटा काठेपुल बिस्थापन गरी आरसीसी पक्की पुल निर्माण गरिएको र उक्त कार्यलाई आगामी आर्थिक वर्षहरुमा समेत निरन्तरता दिइने उहाँले बताउनुभयो ।

६३ किमी लामो चक्रपथ क्रमशः निर्माणसम्पन्न गर्ने लक्ष्यअनुरुप उपमहानगरपालिकाले चालु आवमा वडा–१५ र १६ खण्डमा २ करोड ४३ लाख ७५ हजार विनियोजन गरी बोलपत्र आह्वान भएर मूल्यांकनको क्रममा छ ।वडा–१७ र १८ का सडकखण्ड निर्माणका लागि प्रदेश सरकारसँगको साझेदारीमा समपूरक अनुदान कार्यक्रमअन्तर्गत् १ करोड ९९ लाख ९८ हजार बजेट विनियोजन गरी बोलपत्र आह्वान भएको छ ।

शहरी क्षेत्रको सडकको स्तरोन्नति गरी यातायात आवागमन व्यबस्थित गर्ने कार्यका लागि प्रदेश सरकारसँगको साझेदारीमा १ करोड ७९ लाख ५२ हजार बजेट विनियोजन गरी बोलपत्र आह्वान भएको छ ।नगरमा उपलब्ध स्रोतसाधनको उच्चतम् उपयोगबाट नगरबासीको आर्थिक उन्नतिमा टेवा पुग्ने र बञ्चितिमा परेका वर्ग, क्षेत्र तथा समुदायको विकासमा मुलप्रवाहीकरण भएर समावेशीता प्रवद्र्धनमार्फत् स्थानीय लोकतन्त्र सवलीकरण हुने उहाँको दाबी छ ।

उपमहानगरपालिका मेयर महतले जनताको अभिभावकका रुपमा नगरपालिकाले काम गरिरहेको बताउनुभयो । मेयर महतले जनताको नजिकको सरकार स्थानीय सरकारले अभिभावकका रुपमा काम गरिरहेको भन्दै ‘सुखी नेपाली–सम्बृद्ध नेपाल’ निर्माण लक्ष्यप्राप्तिका लागि उपमहानगरपालिका लागेको बताउनुभयो । समानुपातिक विकासको अवधारणाअनुसार स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधारलगायत क्षेत्रमा काम अगाडि बढेको उहाँको भनाइ छ ।
उहाँले आर्थिक, सामाजिक, सांस्कृतिकलगायत चौतर्फी विकास उपमहानगरपालिकाको लक्ष्य रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्