कोशी अस्पताललाई शिक्षण अस्पताल बनाइने, पूराना भवन भत्काईने



सरोज यादव विराटनगर।

विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमुना र शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको छ । यसका लागि नयाँ भवन निर्माणका लागि क्षयरोग निवारण संस्थाले विराटनगरको कोशी अस्पतालले निर्माण गरेको भवन भत्काइने भएको छ । आईसीयू भवन बनाउन संघीय सरकारबाट बजेट विनियोजन भएपनि जग्गा अपुग भएपछि २०१६ सालमा क्षयरोग निवारण संस्थालाई दिएको जग्गामा बनेको भवन भत्काउन लागिएको हो ।

सरकारी स्वामित्वमा रहेको अस्पतालको नाममा मुख्य बजारमा ५ बिघा १० कट्ठा जग्गा छ । जस मध्ये विराटनगर अस्पताल चोकमा रहेको गणेश मन्दिरले १ कट्ठा १० धुर, देवकोटा पुस्तकालयले २ कट्ठा, रेडक्रस सोसाइटीले १ कट्ठा १३ धुर र क्षयरोग निवारण संस्थाले ८ कट्ठा १० धुर जग्गा प्रयोग गर्दै आएका छन् । कोशी अस्पतालको जग्गामा उपचार गृह आवाससहितका संचरचनाले भरिएका छन् ।

नयाँ भवनका लागि बजेट आएपनि जग्गा नभएका कारण क्षयरोग निवारण संस्थालाई दिइएको जग्गामा निर्माण भएको एउटा भवन भत्काउने सहमति भएको अस्पताल प्रशासनले जनाएको छ । कोशी अस्पताल सञ्चालनमा आर्थिक अवस्थाका कारण धौ धौ छ । तर अस्पतालकै जग्गामा बसेका चारवटा संस्थाले भने आफ्नो भवन भाडामा लगाएर आम्दानी गरिरहेका छन् ।

संघीय सरकारबाट संरचना निर्माणका लागि ४० करोड बजेट विनियोजन भएपछि बुधबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेको नेतृत्वमा अस्पतालले भवन निर्माणका लागि सार्वजनिक छलफल आह्वान गरेको थियो । छलफलमा प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले यो अस्पताललाई मुलुककै नमुना र शिक्षण अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताउनुभयो ।

शिक्षण अस्पताल बनाउनका लागि तत्काल एमडीको कक्षा सञ्चालन गर्नुपर्ने जोड दिँदै उहाँले अस्पतालभित्रका ३ वटा भवन बाँकी राखेर अन्य सबै भवन भत्काउनु पर्ने बताउनुभयो । मन्त्री घिमिरेले हाल प्राप्त भएको ४० करोडको योजनालाई दीर्घकालीन योजनामा समावेश गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले अस्पतालको नाममा रहेको जग्गा स्वामित्वमा ल्याउन नसके अस्पतालले इतिहास कायम गर्न नसक्ने बताउँदै अस्पतालको स्तरोन्नति गर्न र जनताको भावनाअनुसार चल्न दीर्घकालीन योजनाको विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अस्पताललाई राम्रो र भरपर्दो बनाउन अस्पतालले तयार पार्ने योजना एवं सोचमा आफ्नो समर्थन रहेको बताउनुभयो । प्रदेशसभा सदस्य जयराम यादवले व्यावसायिक प्रयोजनमा रहेका संरचना भत्काएर अस्पतालको जग्गा अस्पतालकै भोगमा ल्याउनुपर्ने सुझाव दिनुभयो ।

जिल्ला समवन्य समिति मोरङका संयोजक नरेश पोखरेलले अस्पतालको साखलाई उच्च बनाउन अतिक्रमित जग्गा फिर्ता गराउनुपर्ने भन्दै अस्पतालले दीर्घकालीन योजना बनाएर प्रदेशकै नमुना अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताललाई नमुना अस्पताल बनाउन नगरपालिकाबाट हुन सक्ने सबै किसिमको सहयोग दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । मुलुकै पुरानो सरकारी अस्पतालमध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको रंगेलीमा स्थापना भई २०१३ सालमा विराटनगरमा स्थानान्तरण भई त्रिभुवन स्मारकबाट सञ्चालनमा आएको हो ।

तत्कालीन ५० शय्याको यो अस्पतालमा हाल ३ सय ५० शय्या छन् । ५ बिघा ८ कट्ठा ९ धुर क्षेत्रफलमा फैलिएको यो अस्पतालमा हाल आन्तरिक स्रोतबाट समेत गरी २ सय ६७ जना चिकित्सक र कर्मचारी कार्यरत रहेको अस्पतालकी सुरपरीवेक्षक डा.सङ्गीता मिश्रले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्