यात्रुवाहक तथा मालवाहक सवारी बायाँ लेनबाट



पुष्कर बुढाथोकी,भक्तपुर ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूर्यविनायक–जडिबुटी सडकखण्डमा यात्रुवाहक तथा मालवाहक सवारीले बायाँ लेनबाट मात्रै चलाउनुपर्ने नियम आजबाट लागू गरेको छ । उक्त अभियानको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

कार्यक्रममा प्रजिअ पाण्डेले सडक दुर्घटना न्युनिकरण तथा सवारी व्यवस्थापनको लागि ट्राफिक उज्यालो अभियानले ल्याएको लेन परिवर्तन योजना प्रभावकारी उपाय भएको र यस योजनाले जडीबुटी र कोटेश्वरको जाम न्युनिकरण गर्न र दुर्घटना गर्न सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा एसएसपी ढकालले उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यो योजना लागु गरिएको बताउनुभयो । कार्यक्रममा जनप्रतिनिधि, जिल्ला सुरक्षाकर्मी, समाजसेवी, वुद्धिजिवी, पत्रकार,यातायात ब्यबसायी,स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम पश्चात सडक लेनको पालनाका लागि चालकहरुलाई पर्चा दिएर जानकारी दिइएको थियो । पछिल्लो समय उपत्यकाको सवारी आवागमनलाई थप सहज र प्रभावकारी बनाउन महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठको अध्यक्षतामा गठित सुझाव समितिले यस सडकखण्ड अनुगमन गरी ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन दायाँ र बायाँ लेनको व्यवस्था गर्दा दुर्घटना न्यूनीकरणमा सुधार हुन सक्ने सुझाव दिएको थियो ।

यात्रुबाहक बायाँ लेनबाट र द्रुत गतिमा हिँड्ने दायाँ लेनबाट चल्ने अन्तरराष्ट्रिय अभ्यास रहेको छ ।जिल्लामा पनि यो अभियानलाई सहजीकरण गर्न पुर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुको संयोजकत्वमा यातायात ब्यबसायी र सरोकारवाल सहितको एक समिति बनेको छ ।

प्रतिक्रिया दिनुहोस्