माइभ्याली गोल्डकप भोलिबाट



गणेश घिमिरे, इलाम

बिहीबारबाट इलामको ठूलो टुडिखेलमा छैटौं संस्करणको माईभ्याली गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा भोलि कोहिमा इगल फूटबल क्लब नागाल्याण्ड र गोर्खा ब्वाइज फूटबल क्लब रुपन्देही बीच प्रतिष्पर्धा हुँदैछ ।

नागाल्याण्ड पहिलो पटक इलामे मैदानमा उत्रदैछ भने, रुपन्देहीले एक संस्करणको अनुभव बटुलीसकेको छ । दुवै टिम पहिलो जित दर्ता गर्दै अघिल्लो चरणमा प्रबेश गर्ने लक्ष्यका साथ मैदान उत्रनेछ । यता प्रतियोगिताको तयारी सबै पूरा भइसकेको आयोजक माईभयाली फूटबल क्लब इलामले जनाएको छ । मैदानमा दर्शकलाई बसेर खेल हेर्नका लागि दशकहजार क्षमताको बाँसको अस्थायी प्याराफिट निर्माण भइसकेको छ ।

पहाडी इलाकामा सबै भन्दा ठुलो धनराशि र धेरै दर्शकको चाप भएको गोल्डकप भएकोले इलाम पुर्वको फुटबलको राजधानी पनि बन्दै आएको छ । २०७१ सालदेखि हुँदै आएको यस गोल्डकपको उपाधि थ्रीस्टार, त्रिभुवन आर्मी र क्यामरुनको दाफिन्स फूटबल क्बले १/१ संस्करण जितेका छन् भने झापा ११ ले दुई संस्करण जितिसकेको छ ।

आयोजक सहित दश टिमले सहभागिता जनाउने यस प्रतियोगिताको बिजेताले यसबर्ष ८ लाख र उपबिजेताले ५ लाख रुपैंयाँ पाउनेछ । उत्कृष्ट खेलाडिले एकलाख २५ हजार पाउँदा बिभिन्न बिधाका खेलाडिहरु पनि पुरस्कृत हुने आयोजक माईभ्याली फूटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताउनुभयो ।

प्रतियोगितामा यो बर्ष भर्खर सम्पन्न सहिद स्मारक ए डिभिजन लिग बिजेता मच्छिन्द्र र उपविजेता त्रिभुवन आर्मी सहित गोर्खा ब्वाइज रुपन्देही, संकटा फूटबल क्लब, झापा ११ रहेको छ । यस्तै बिदेशि टिममा कोहिमा इगल फूटबल क्लब नागाल्याण्ड, एमएफसि दार्जिलिङ्ग, ग्यान्टोक सिटि फूटबल क्लब सिक्किम र मोहमडन स्पोटिङ क्लब कोलकत्ता रहेको छ

। प्रतियोगितालाई भब्य बनाउन लागेको आयोजकले टिकट दर एकसय रुपैंयाँ राखेको छ भने सिजनल टिकट दर एकहजार रुपैंयाँ राखेको छ । यो बर्ष थ्रिस्टार, मनाङ मरस्याङदी जस्ता फूटबल क्लबहरु नआउँदा भने गोल्डकप खासै उत्साहजनक नहुने अनुमान गरेको आयोजककै केही सदस्यहरु बताउँछन् । तरपनि देश बिदेशमा नाम चलेका फूटबल क्लबहरु भने आयोजकले इलामको मैदानमा उतार्न लागेको बताएका छन् । इलाममा थ्रिस्टार र मनाङ मरस्याङदी टिम रहँदा गतबर्षका संस्करणमा दर्शकको चाप उल्लेख्य रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्