महानगरले चलायो सुकुम्बासी टहरामा डोजर



न्युज अफ नेपाल,विराटनगर ।

सार्वजनिक बाटो ओगटेर बनाइएका घर–टहरा विराटनगर महानगरले डोजर लगाएर भत्काएको छ । महानगरस्थित वडा नं १ पोखरिया भट्टाचोकमा सडक क्षेत्रमा बनेका सुकुम्बासीका घर–टहरामा महानगरपालिकाले डोजर लगाएर भत्काएको हो ।

सुकुम्बासीका नाममा सार्वजनिक सडकनै अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काएर बाटो खाली गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले बताउनुभयो ।

जग्गा खाली गर्न सूचनामार्फत आग्रह गरे पनि अटेर गरेपछि अतिक्रमित बाटोको जमिन खाली गर्नु परेको अधिकारीको भनाइ छ । महानगरको आग्रह अटेर गर्ने र वार्तामा समेत नबस्ने गरेका कारण लामो समय देखि महानगर आजित भएको थियो ।

महानगरले दिएको अल्टिमेटमलाई बेवास्था गरेपछि डोजर प्रयोग गरेर अतिक्रमित भएको सरकारी जमिन संरक्षण गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ । टहरा भत्काउन पुगेको टोलीलाई स्थानीय बासिन्दाले अवरोधको प्रयास गरेका थिए । त्यसक्रममा नगर रक्षक र प्रहरीको टोलीसँग केहीबेर धकेलाधकेल पनि भएको थियो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईको नेतृत्वमा थप मद्दतका लागि प्रहरी टोली पुगेपछि बल प्रयोग गरेर सडकको उत्तरतर्फ सार्वजनिक जग्गामा बनाइएका घर भत्काइएको हो । सुकुम्बासीले बनाएका टहरा पछाडि व्यक्तिको जग्गा रहेकोले उनीहरुको योजनामा घरटहरा भत्काइएको पीडितहरुले आरोप लगाएका छन् ।

सार्वजनिक जग्गामा सुकुम्बासी बसिदिएपछि पछाडिका घरसम्म पुग्ने बाटो नहुँदा अहिले सुकुम्बासीलाई घरबारविहीन बनाइएको स्थानीय जय कामतले दावी गरे ।

स्थानीय बासिन्दाले नजिकैको परोपकार घाटमा रहेको चार बिघा जग्गामा बसेका सुकुम्बासी परिवारलाई नहटाएको तर सो क्षेत्रका सुकुम्बासीलाई कुनै विकल्प नदिएको भन्दै आपत्ती जनाएका छन् । सडकमा पर्ने डेढ कट्ठा सार्वजनिक जग्गामा संरचना बनाएर सुकुम्बासी बसेका थिए ।

भत्काइएको घर नजिकै करिब एक सय बढी सुकुम्बासी परिवार टहरा बनाएर बसेका छन् । उनीहरुलाई भने हटाइएको छैन । कुनैपनि विकल्प नदिइकन घर–टहरा भत्काएपछि बिचल्नी भएको उनीहरूको गुनासो छ

टहरा भत्काएपछि ६२ वर्षीया बीबी हसिना खातुनले अब कहाँ गएर बस्ने भन्ने चिन्ता थपिएको बताउनुभयो । ३५ वर्षदेखि बसेको स्थानबाट हटाएपछि दुःख पाएको उहाँको भनाइ छ ।

आफूहरूलाई विकल्प दिएर अन्यत्र बसोबासको व्यवस्था गर्न उहाँले माग गर्नुभयो । नेपाल भूमिहीन सुकुम्बासी संगठन विराटनगर महानगर कमिटीका अध्यक्ष बुद्धिमान लिम्बूले भूमिहिन सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गरिनु पर्ने, हटाउनुअघि नै सुकुम्बासीलाई पुर्नवासको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्