सरकारले घोषणा गरेको पुरस्कार साग विजेता खेलाडीले अझै पाएनन्, सरकारको गफ मात्र हो, की!



न्युज अफ नेपाल, काठमाडौँ ।

सरकारले साग खेलका विजेतालाई दिने भनेको पुरस्कार रकम तीन महिना पुग्न लाग्दा पनि नदिँदा खेलाडीहरु अन्योलमा परेका छन् ।

खेलाडीहरुको अब्बल प्रस्तुतिको सराहनास्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २५ गते प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरुलाई पुरस्कार दिने घोषणा गरेका थिए । प्रधानमन्त्रीले एक स्वर्ण विजेताले ९ लाख, दुईभन्दा बढी जित्नेले एक स्वर्ण बराबर ११ लाख प्राप्त गर्ने तथा रजत विजेताले ६ लाख र कास्य विजेताले ३ लाख प्राप्त गर्ने घोषणा गरेका थिए ।

पुरस्कार रकम तीन महिना पुग्न लाग्दा पनि सरकारले आफूलाई रकम नदिएको विकास थापाले गुनासो गरे । ‘भारोत्तोलनका लागि आवश्यक सामाग्री निकै महङ्गो हुने भएकाले सरकारले दिएको पैसाले त्यही किन्छु भन्ने सोचेको थिएँ,’अलि मलीन आवाजमा उनी भन्छन्, ‘हामीले खाने न्यूट्रिसन पनि महङगो हुन्छ, त्यही पुर्याउन धौ–धौ हुन्छ खेलाडीहरुलाई ।’भारोत्तोलन प्रतियोगितामा हालसम्मकै उत्कृष्ट नतिजा हात पार्दै थापाले (पुरुष ८९ केजी) तौल समूहमा स्वर्ण जितेकाले उनले ९ लाख पाउनेवाला थिए ।

सरकारले दिने भनेको पुरस्कार अहिलेसम्म नपाउँदा चित्त अलि दुखाउदै अनुपमा मगरले भनिन– ‘नदिने भए त सरकारले किन घोषणा गथ्र्यो र ? तर यति बेला सम्म किन दिएन भन्ने कुराले दङ्ग परेको छु।’ सागअन्तर्गत कराँतेको कुमुतेतर्फ मगरले महिला ६८ केजी माथिको तौल समूहको फाइनलमा पाकिस्तानी खेलाडीलाई हराएर नेपाललाई स्वर्ण पदक दिलाएकी थिइन् ।

आयशा शाक्यले सरकारले दिने भनेको पुरस्कारको आस गर्दै भन्छिन्– ‘ढिलाई गर्ने त हाम्रो सरकारको चलिआएको चलन हो । यो पालि त सरकारले पहिलेको जस्तो गर्दैन होला जस्तो लागेको थियो तर खै त साग सकिएको लगभग तीन महिना पूरा हुँदासम्म सरकारलाई वास्ता छैन । सरकारको गफ मात्र हो, की!
दुई सन्तानकी आमा शाक्यले तेक्वान्दोमा २ वटा स्वर्ण पदक हात पारेकी थिईन ।

हामीले देशको लागि स्वर्ण दिलाएपछि देशले पनि त हाम्रो लागि केही गर्न पर्यो तर राज्यले यसरी लापरवाही गर्यो भने खेलाडी बन्ने सपना बुनीरहेका नयाँ खेलाडी प्रोत्साहित नभई निरुत्साहित हुने सञ्जु चौधरीले बताईन। उनी भारोत्तोलन प्रतियोगितामा ५९ केजी तौल महिला समूहमा स्वर्ण जितेकी हुन् । भारोत्तोलन प्रतियोगितामा महिलातर्फ नेपालले ऐतिहासिक पहिलो स्वर्ण जितेको हो ।

दक्षिण एसियाली खेलकुद(साग) राष्ट्रपति विद्यादेवी भण्डारीले भव्य समारोहकाबीच सागको उद्घाटन गरेकी थिइन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०७६, मंसिर १५ गतेदेखि २४ गतेसम्म सम्पन्न भएको थियो ।

सागमा नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक हात पार्दै दोस्रो स्थान बनाउन सफल भएको थियो भने भारतले पहिलो स्थान हासिल गरेको थियो ।

अघिल्लो सागमा भने सरकारले स्वर्ण विजेतालाई पाँच लाख, रजतलाई तीन र कास्यलाई दुई लाख दिएको थियो।

प्रतिक्रिया दिनुहोस्