भारतमा लगातार तीन रातसम्म हिंसात्मक आक्रमण हुँदा बीसको निधन



भारत ।

भारतको राजधानी दिल्लीमा हिंसात्मक झुण्डहरूले मुस्लिमहरूको घर र पसलहरूमा आक्रमण गरेका विवरणहरूमाझ लगातर तेस्रो रात दङ्गा भएको बताइएको छ।

राजधानी दिल्लीमा दशकौं पछि देखिएको घातक हिंसाको घटनामा हालसम्म बीसजनाको ज्यान गैसकेको छ।

सरकारले ल्याएको नारिकतासँग सम्बन्धित नयाँ विवादास्पद कानुनको समर्थन र विरोध गर्नेहरूबीच गत आइतवार पहिलोपल्ट भिडन्त भएको थियो।

तर त्यसयता हिंसाले साम्प्रदायिक स्वरूप लिएको जस्तो देखिएको छ, मानिसहरूलाई तिनीहरूको धार्मिक आस्थाका आधारमा निशाना बनाइएको भन्ने विवरणहरू आएका छन्।

सामाजिक सञ्जालमा प्रस्तुत भैरहेका फोटो, भिडिओ र अन्य विवरणहरूले दिल्ली शहरले बेहोरिरहेको चरम अवस्थाको चित्रण गरेका छन्।

अदालतको आदेश

जथाभावी आगजनी, काठ र फलामको लौरो अनि ढुङ्गा बोकेका मानिसहरूको समूह सडकहरूमा ओहोरदोहोर गरिरहेका र हिन्दू तथा मुस्लिम समुदायका मानिसहरू मुठभेडको अवस्थामा रहेका भन्ने विवरणहरू आएका छन्।

मारिनेहरूमा हिन्दू र मुस्लिम दुवै समुदायका मानिसहरू छन्। १८९ जनाजति घाइते रहेका दिल्लीस्थित गुरु तेगबहादुर अस्पतालका अधिकारीहरूले बताएका छन्, जहाँ धेरैजसो घाइते उपचाररत छन्।

विरलै हुने एक घटनामा दिल्लीस्थित उच्च अदालतले मध्यरातमा सुनुवाइ गर्दै, हिंसामा घाइते भएकाहरूलाई सुरक्षित रूपमा नजिकका अस्पतालहरू पुर्‍याउने वातावरण बनाउन सरकार र प्रहरीलाई निर्देशन दिएको छ।

बिबिसि

 

प्रतिक्रिया दिनुहोस्