एकदिने निःशुल्क क्यान्सर सचेतना



काठमाडाैँ,  (नेस
नेपाल क्यान्सर सहयोग समूह तथा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर हरिसिद्धिको संयुक्त सहयोग तथा मोतीविनायक महिला जागृति सहकारी संस्था, ढोलाहिटी र वडा स्वास्थ्य कार्यान्वयन समितिको संयुक्त आयोजनामा सो सहकारी संस्था परिसरमा एकदिने निःशुल्क पाठेघरको मुख तथा स्तन क्यान्सरको जाँच र क्यान्सर सचेतना कक्षा सञ्चालन गरिएको छ।
शिविरमा सहकारीका सदस्य महिलासमेत गरी एक सय एक जना महिलाहरुको क्यान्सर स्क्रिनिङ भएको थियो। कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिको तर्फबाट निर्देशक एवम् समाजसेवी स्वरुपा श्रेष्ठ, वरिष्ठ क्यान्सर रोग विशेषज्ञहरु डा. मुरारीमान श्रेष्ठ, डा. हरिप्रसाद ढकाल, डा.कपेन्द्र शेखर अमात्य र डा. अन्जु श्रेष्ठले क्यान्सरको सही निदान र उपचार समयमै हुन सके क्यान्सर रोग निको हुन सक्ने कुरामा जोड दिनुभयो।
नेपालमै क्यान्सर उपचारको नयाँनयाँ प्रविधिहरु उपलब्ध भएकाले उपचार गर्न विदेश जानुपर्ने बाध्यता हटेको उहाँहरुले बताउनुभयो। कार्यक्रममा ललितपुर महानगरपालिका वडा नं २६ का अध्यक्ष सुरेश महर्जनले स्थानीय निकायको सहयोगले भएका यस्ता कार्यक्रमले महिला सशक्तीकरणमा ठूलो भूमिका निर्वाह गर्ने बताउनुभयो।
कार्यक्रममा नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिकी निर्देशक एवम् समाजसेवी स्वरुपा श्रेष्ठलाई सहकारी संस्थाको तर्फबाट सम्मान पनि गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्