यौन उत्पीडनमा हार्वे दोषी करार



हलिउडका प्रख्यात फिल्म निर्माता हार्वे विन्सटिन यौन उत्पीडनको मामलामा दोषी करार भएका छन्।
सोमबार अमेरिकाको न्युयोर्कस्थित एक अदालतले उनलाई दोषी करार गरेको हो। उनीमाथि आपराधिक यौनजन्य गतिविधि तथा बलत्कार जस्ता गम्भीर आरोप लागेको थियो, जसमा उनी दोषी ठहरिएका छन्।
५ महिला तथा ७ पुरुषको न्यायिक टोलीको ५ दिनसम्मको विचार विमर्शपश्चात् हार्वे तेर्सो दर्जाको बलात्कार तथा पहिलो दर्जाको आपराधिक यौन गतिविधिको मामलामा दोषी सावित भएको सीएनएनमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ।
हार्वेमाथि एक सयभन्दा अधिक महिलाले यौन उत्पीडन गरेको आरोप लगाएका थिए। जसमा उनको पूर्वसहयोगी मिमी हेलीदेखि हलिउड अभिनेत्री जेसिका मानसमेत थिए। यौन उत्पीडनको सजायस्वरूप हार्वेलाई २५ देखि २९ वर्षसम्मको जेल सजाय हुन सक्ने समाचारमा जनाइएको छ।
हार्वे हलिउडका त्यस्ता निर्माता हुन्, जसको निर्माणमा बनेका फिल्महरूले ८१ ओस्कार एकेडेमी अवार्ड जितेका छन्। उनी त्यस्ता निर्मातामध्ये एक थिए, जसको पहुँच ह्वाइट हाउससम्म थियो।
यो खबर बाहिरिएपछि केही हलिउड अभिनेत्री तथा अन्य व्यक्तिले सामाजिक सञ्जालमा आदालतको यो फैसलालाई सम्मान गर्दै हार्वेलाई सजाय मिल्ने विषयमा खुसी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्