डा. अम्बेडकर र जातिप्रथाका पाँच सिद्धान्त



डा. भीमराव अम्बेडकर अहिलेका भारतका आरक्षण नीतिका कालिगढ हुन्। उनलाई आरक्षण नीतिका मुख्य जन्मदाता एवं प्रणेता भनिन्छ। उनी एक भारतीय विधिवेत्ता तथा सुधारवादी हुन्। एक राजनीतिक नेता, सुधारवादी बौद्धगुरु तथा भारतीय संविधानका मुख्य वास्तुकार पनि मानिन्छन्। यिनको जन्म एक गरिब अछूत परिवारमा भएको थियो। अम्बेडकरले आफ्नो सारा जीवन हिन्दू धर्मको हिन्दू वर्ण व्यवस्था र भारतीय समाजमा व्याप्त जातीय व्यवस्थाका विरुद्धको संघर्षमा बिताएका हुन्। बौद्ध महाशक्तिहरूको दलित आन्दोलन प्रारम्भ गर्ने श्रेय पनि उनैलाई जान्छ।
हिन्दू धर्ममा मानवसमाजलाई चार वर्णहरूमा वर्गीकृत गरिएको छ। उनी त्यस बेला अछूतहरू मानिएका दलितमध्येका पहिलो व्यक्ति थिए, जसले धेरै सामाजिक र वित्तीय बाधाहरू पार गरेर भारतमा कलेजको शिक्षा प्राप्त गरे। अम्बेडकरले कानुनको उपाधि प्राप्त गर्नुका साथै विधि, अर्थशास्त्र अनि राजनीतिक विज्ञानमा आफ्नो अध्ययन र अनुसन्धानका कारण कोलम्बिया विश्वविद्यालय र लन्डन स्कूल अफ इकोनमिक्सबाट धेरै डक्टरेट डिग्रीहरू पनि प्राप्त गरे।
अम्बेडकरको दृष्टिमा जातप्रथाको शास्त्रीय स्वरूपमा हिन्दू समाजको शासन व्यवस्थाका सामाजिक, आर्थिक, सांस्कृतिक तथा राजनीतिक पक्षलाई समेत समावेश गरेका छन्। उनले हिन्दू धर्मभन्दा पनि हिन्दू समाजलाई फरक दृष्टिकोणबाट व्याख्या गरेका छन्। उनले धर्मलाई गलत अर्थ लगाउनेहरूले समाजमा विखण्डन ल्याएको बताएका छन्। सन् १९१६ मा अम्बेडकरले जातप्रथाको र सन् १९४८ मा छुवाछूतको उत्पतिको सिद्धान्त पनि स्थापित गरेका छन्। अम्बेडकरले जातप्रथाका त्यस्ता पाँच विशेषताको पहिचान गरेका छन्, जसले पञ्चितीकरण नै मुख्य चरित्र भएको हिन्दू सामाजको विशिष्ट शासन व्यवस्था बनाए। यस्तो अवस्थाले हिन्दूहरूको जनसंख्यालाई विभिन्न जातका सामाजिक समूहमा विभाजन गर्दछ र उनीहरूका लागि नागरिक, सांस्कृतिक र आर्थिक अधिकारलाई जातैपिच्छे विशिष्ट नियम लाद्छ। ती ५ विशेषता यस प्रकार छन्।
१. एउटै जातभित्र विवाह गर्नु वा सजातीय विवाह गर्नु जातप्रथाको महत्वपूर्ण विशेषता हो।
२. नागरिक, सांस्कृतिक, शैक्षिक तथा आर्थिक अधिकार आनुवांशिकरूपमा निश्चित हुनु तथा तिनमा परिवर्तन गर्ने स्वतन्त्र नहुनु अर्को विशेषता हो।
३. सामाजिक तथा आर्थिक अधिकार सम्पत्तिको स्वामित्व, रोजगार, ज्याला, शिक्षा आदि अधिकारको विभाजन माथिल्लो जातदेखि सबैभन्दा तल्लो जातसम्म असमानरूपमा हुनु अर्को विशेषता हो।
४. अधिकारहरू जातअनुसार असमान र निश्चित मात्र छैनन्, जातको स्तरअनुसार श्रेणीकृत पनि छन्। यसबाहेक केही पेसा वा आर्थिक क्रियाकलाप माथिल्लो स्तरका ठानिन्छन् भने केहीलाई तल्लो स्तरको भनिन्छ। यसबाट पवित्र र अपवित्र भन्ने कलंकमा आधारित श्रेणीबद्ध संरचनालाई पालनपोषण गरिन्छ।
५. जातप्रथाले कर्म, पुनर्जन्म आदि सिद्धान्तलगायत हिन्दू धार्मिक दर्शनका विभिन्न तत्वबाट आफूलाई न्यायोचित ठह¥याउँछ। उनको पहिलो सिद्धान्तले सजातीय विवाहकै कारण जातीय विभेदको प्रथा चलेको तथा यसको अन्त्य हुन नसकेको बताउँछ। हामी बहुजातीय, बहुसांस्कृतिक र बहुसामाजिक परम्परामा अवस्थित भएका कारण यो सिद्धान्तले हामीलाई बढी समातेको छ। अहिले पनि दलितको छोरी ब्राह्मण समाजमा सहजै विवाह हँुदैन। ब्राह्मणमा पनि जैशी र उपाध्याय ब्राह्मणको बीचमा पनि ठूलो खाडल छ। हरेक व्यक्तिका रोजाइ, क्षमता र भावनाहरूलाई कुनै ठाउँ दिइएको छैन।
अन्तर्जातीय विवाहका कारण नेपाली समाजमा दम्पतीले भोग्ने गरेको बहिष्करणका विषयहरू नौलो र सामान्य हैन। बहिष्करणमा परेका व्यक्ति र बहिष्करण गर्ने व्यक्तिहरूको बाटो फरक हँुदै जान्छ र एउटै समाजलाई फरक धारबाट अगाडि बढाउँछ।
दोस्रो सिद्धान्तमा नेपालमा हाल धेरै रूपान्तरण भएको छ। यद्यपि दलितहरूको हकमा भने समस्या झनै विकराल बनेको महसुस हुन्छ। अहिले दलित र गैरदलितबीचमा खाडल बन्नुको कारण नागरिक, सांस्कृतिक, शैक्षिक र आर्थिकका विषयहरूमा एउटा तप्का वा समुदायलाई फरक रूपले व्याख्या गर्नु नै हो। वास्तवमा अधिकारको समान वितरण नहुनु नै जातिप्रथाको मुटु हो। जबसम्म दलितहरूको जीवनस्तर उठाउन राज्यले पहल गर्दैन तबसम्म दलितका समस्या समाधान गर्न सकिँदैन।
यस्तै उनको तेस्रो सिद्धान्तमा हिन्दू सामाजिक परम्पराले दलित र गैरदलितलाई कानुनीरूपमा फरक व्याख्या गरेको छ। त्यो अहिले पनि छ, चाहे त्यो दलितलाई सेवा–सुविधा दिने सवालमा किन नहोस्। यसबाट पनि दलितमाथिको थिचोमिचोको सवालमा केही काम गरेको छ। विभिन्न जात र तहका आधारमा अधिकार तथा सेवा–सुविधा हुनु हिन्दू समाजमा जातीय विभेद फैलाउने जड हो।
सम्पत्तिको अधिकार, जग्गादेखि लिएर राज्यका निकायहरूमा समेत पहुँचले गैरदलित माथि छन् भन्ने अम्बेडकरको भनाइ हो। रोजगारी, त्यसमा पनि सरकारी निकायहरूमा आबद्ध हुने गैरदलितहरू नै आनुपातिकरूपले धेरै छन्। जहाँ स्वभावैले अधिकार बाँडफाँडमा विभाजन देखिन्छ। यसैको जगमा टेकेर विभेद हुन्छ। हिन्दू धार्मिक मान्यताअनुसार दलित अर्थात् शुद्रले अन्य जातिको सेवा गर्नु हो।
अम्बेडरको चौथो सिद्धान्तले नेपाली दलित आन्दोलनको मूल मर्मलाई समेट्ने काम गरेको छ। अम्बेडकरले सन् १९४८ मा जातप्रथाको छुवाछूत उत्पतिको सिद्धान्त स्थापित गरेका हुन्। चारै वर्णभित्र जातीय विभेद छ। पवित्र र अपवित्रको कलंक लगाउने काम अरूमा भएको छैन तर दलितमा अपवित्रको कलंक लगाइएको छ।
नेपालको जातिप्रथा हिन्दू धर्मबाटै आएको हो भन्नेमा दुईमत छैन। अम्बेडकरले पाँचौं सिद्धान्तका रूपमा व्याख्या गरेअनुसार कर्ममा विश्वास गर्ने दलितहरू पछाडि नै पर्छन्। तर दलितहरूले हामी पछाडि परेका छौं भन्ने कुराको ज्ञान प्राप्त गर्न नसक्नु वास्तवमै पीडादायी कुरा हो। उनीहरूले हिन्दू दर्शनले भनेबमोजिम नै आफ्नो जीवनशैलीलाई परिवर्तन गर्दै जानु जातिप्रथाको विकास भएको पाइन्छ।
यसरी जातिप्रथा उत्पतिका पाँच सिद्धान्तले भारतका दलितहरूको समस्या बुझ्नमा ठूलो सहयोग प्राप्त भएको थियो। तर, अहिले पनि भारतमा धेरै दलितहरू पीडित अवस्थामा नै छन्। यो विषय नेपालका प्रत्येक दलित अधिकारको क्षेत्रमा काम गर्नेहरूलाई अवगत छ। तर, यस अनुरूपले काम हुन सकेको छैन। नेपाली दलितभित्रको समस्या डा. भीमराव अम्बेडकरको सिद्धान्तभन्दा पर छैन। उनका सिद्धान्तमा गहिरो अध्ययन छ।
– रोशन रजक
एमए दोस्रो वर्ष, टीयु, काठमाडौं।
प्रतिक्रिया दिनुहोस्