जन्मदिन बालिका आश्रममा



चितवन, (नेस)।
गायिका तथा मोडल सुनीता गुरुङले आफ्नो जन्मदिन चितवनको देवघाटस्थित आश्रममा आश्रित अभिभावकविहीन बालिकाहरूका साथ मनाएकी छिन्।
गुरुङले काठमाडौंबाट चितवन पुगी देवघाटमा अवस्थित श्रीराम जानकी बालिका आश्रममा आश्रित बालिकाका साथ जन्मदिन मनाएकी हुन्। गुरुङले बालिकाहरूले तयार पारेको फूलबत्तीका साथ उनीहरूसँग जन्मदिन मनाइन्।
सो अवसरमा विभिन्न तहमा अध्ययनरत बालिकाहरूले हार्मोनियम र तबला बजाई संस्कृत, नेपाली र अंग्रेजी भाषामा जन्मदिन गीत गाएर गायिका गुरुङलाई शुभकामना दिएका थिए।
उनीहरूले जन्मदिनको शुभकामना दिने क्रममा वेद र अन्य मन्त्रसमेत पाठ गरेका थिए भने भजन पनि गाएका थिए। सो अवसरमा गायिका तथा मोडल गुरुङले बालिकाहरूलाई टीका लगाई दक्षिणा दिएकी थिइन्। आश्रममा ३० बालिका आश्रित छन्। गायिका गुरुङले देवघाटजस्तो पवित्रस्थलमा आएर बालिकाहरूका साथ आध्यात्मिक ढंगको  जन्मदिन मनाउन पाउँदा खुसी लागेको बताइन्।
आश्रित बालिकाको अध्ययत र लत्ताकपडामा सहयोग पु¥याउने उद्देश्यले गायिका गुरुङ कोषाध्यक्ष रहेको लायन्स क्लब अफ काठमाडौं टेम्पल वार्षिक १ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ। लायन्स क्लब अफ काठमाडौंमा सुदर्शन महर्जन अध्यक्ष छन्।

प्रतिक्रिया दिनुहोस्