औद्योगिक, कृषि तथा पर्यटन महोत्सव हुँदै



बुटवल, (नेस)
नेपाल घरेलु तथा साना उद्योग महासंघअन्तर्गत गठित प्रदेश ५ को महिला उद्यमी समितिले पहिलोपटक व्यापार महोत्सव गर्ने भएको छ।
घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धनका लागि फागुन २१ गतेदेखि चैत २ गतेसम्म ‘प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सव–२०७६’ गर्न लागिएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो।
‘मेहनत सिर्जना, उत्पादन र वस्तु ः मेरै नेपालको’ नारासहित बुटवलको देवीनगरमा सञ्चालन गरिने महोत्वसवमा ३ सय स्टल रहने तथा ५ लाख दर्शकले अवलोकन गर्ने र १ करोडको कारोबार हुने अपेक्षा गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश ५ की अध्यक्ष शान्ति तिमिल्सिना शर्माले बताउनुभयो।
मेलामा प्रदेश ५ का १२ जिल्लाका उदाहरणीय महिला उद्यमीका उत्पादनलाई निःशुल्क स्टल व्यवस्था गरिने उहाँले बताउनुभयो। जसमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले ६० स्टल निःशुल्क राखिने छ।
मेलामा कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलको जानकारीमुलक प्रदर्शनी, महिला उद्यमीद्वारा उत्पादित हस्तकलाका सामग्रीको प्रदर्शनी, नवीनतम् प्रविधि एवं वैकल्पिक ऊर्जालगायतको प्रदर्शनीलाई प्राथमिकता राखिने उहाँले बताउनुभयो।
नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धितालले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि प्राथमिकता दिइएको महोत्सवमा स्थानीय उत्पादनको दिगो बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्