एकैपटक तीनवटा सामाजिक विकृतिको अन्त्य



नेपाल समाचारपत्र, पाल्पा ।
देशमा पर्यटकीय नगरीका रुपमा परिचय कमाएको तानसेन नगरपालिकाले एकैपटक तीनवटा सामाजिक समस्या र विकृतिलाई अन्त्य गरी ती समस्या मुक्त नगरका रूपमा पहिचान बनाउने अभियान थालेको छ।
तानसेनलाई लागूऔषध सेवन, बालश्रममुक्त र मानव बेचविखनमुक्त नगर बनाउने अभियान शुरु भएको हो। तानसेन नगरपालिका र जिल्ला प्रहरी कार्यालयले संयुक्त रूपमा अभियान सञ्चालन गरेका छन। भावी सन्ततीको भविष्य उज्जवल बनाउन संयुक्त रूपमा यो अभियान शुरु गरिएको एक कार्यक्रमको आयोजना गरी तानसेन नगरपालिकाका नगरप्रमुख अशोककुमार शाहीले जानकारी दिन्ुभयो।
उहाँले अभिभावकको व्यस्तताका कारण बालबालिका सानै उमेरदेखि रक्सी,चुरोट तथा गुटका हुँदै लागूपदार्थ सेवनमा परिणत भएको अवस्थालाई मध्यनजर गरी लागूऔषधमुक्त नगर बनाउन यो अभियान सञ्चालन गरिएको बताउनुभयो।
अभियान शुरु भएपछि विद्यालयवरिपरि रक्सी चुरोट बिक्री गर्न नपाइने र बजारको अन्य स्थानमा पनि गुटका सुर्तीजन्य वस्तु देखाएर बिक्री गर्न नपाइने, मदिराजन्य पदार्थसमेत देखाएर सजाएर राख्न नपाइने गरी बिक्री गर्नुपर्ने तानसेन नगरपालिकाले जनाएको छ।
त्यस्तै नगरभित्र बालश्रमिकको रूपमा कामदार राख्न नपाइने, राखेको पाइएमा कारबाही गर्ने, कुनै व्यक्ति बाध्यतावस बालश्रमिकका रूपमा रही नियमित पढेको छ भने त्यस्तो व्यक्तिलाई तानसेन नगरपालिकाले कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने नगरप्रमुख शाहीले जानकारी दिनुभयो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले यो अभियानमा प्रहरीले एक्लै विगतदेखि काम गर्दै आएको भए पनि नगरपालिकाको सहयोगले सफलता पाउने बताउनुभयो।
जिल्लामा बालबालिकादेखि रक्सी, गाजा सेवनकर्ता रहेको भए पनि अहिलेसम्म कडा खालको लागूऔषध सेवनकर्ता नभेटिएको प्रहरी उपरीक्षक जिसीले बताउनुभयो।
कार्यक्रममा प्रहरी निरीक्षक सुरज श्रेष्ठले यो अभियान विद्यालय, बालक्लब, युवाक्लब, आमा समूह, महिला समूह टोल विकास संस्था, उद्योगी, व्यापारी, होटल व्यवसायी, कानुन व्यवसायी, शिक्षक विद्यार्थीहरूसँगको सहकार्यमा गरिने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्