फेसबुकबाट ब्ल्याकमेल भएपछि युवतीले गरिन् आत्महत्या



सरोज यादव, विराटनगर
सामाजिक सञ्जालबाट ब्ल्याकमेलिङ भएपछि एक युवतीले आत्महत्या गरेकी छन्।
सुन्दरहरैंचा–५ गौशलास्थित भीमकुमारी ढकालको घरमा डेरा गरी बस्ने गुरुप्रसाद अधिकारीकी १९ वर्षीय पत्नी प्रीति तिम्सिना अधिकारीले आफ्नै कोठामा सलको पासो लगाई झन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनास्थलमा सुसाइड नोट र मृतकले प्रयोग गर्ने मोबाइल फोन बरामद भएको थियो।
रिसी र ड्याज्लिङ क्विन नाम गरेको फेसबुक आइडी प्रयोग गर्ने दिपा नाम गरेकी केटीले फोटो पोस्ट गरिदिने भन्दै ब्ल्याकमेल गरी पटक–पटक पैसा असुल गरेको र उक्त दिन पनि पैसा मागेकोमा पैसा नभएकाले आत्महत्या गर्नुपरेको भनि उनले सुसाइड नोटमा फेला परेको प्रहरीले जनाएको छ।
आइडी प्रयोग गर्ने दिपा, रिसी भन्ने रिसिराम भट्टराई भएको र इटहरी गोर्खाअगाडि पैसा लिन सुन्दरहरैंचा ६ बस्ने १९ वर्षकी सन्जिता निरौलालाई रिसीले पठाएको खुलेको हुँदा दुवैजनालाई पक्राउ गरेर म्याद थप गरी अनुसन्धान अगाडि बढाइको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुभयो।
ब्राउनसुगरसहित चार पक्राउ
मोरङको सुन्दरहरैंचाबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन्। गएको ८ गते दिउँसो  सुन्दरहरैंचा ५ हेदम्बा टोलस्थित स्थानीय बलबहादुर खरेलको घरमा डेरा गरी बस्ने नरबहादुर दर्जीको कोठा खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर ४ ग्राम ६ सय ६० मिलिग्रामसहित ३० वर्षीय नरबहादुर दर्जी, वर्ष २५ का आशिष ढकाल, केराबारी ६ डागी बस्ने वर्ष २० को आशिष मगर र वर्ष २३ का रुपेश तामाङलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ गरिएकाहरूमाथि म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
हराएका मोबाइल र मोटरसाइकल बरामद
मोरङका विभिन्न स्थानबाट मोटरसाइकल चोरीका घटना बढ्दै गएपछि खोजी अभियान जारी राखेको मोरङ प्रहरीले ३ वटा हराएका मोटरसाइकल र एउटा बेवारिसे अवस्थामा रहेको मोटरसाइकल बरामद गरेको छ। कार्तिक २६ गते मध्यरातको समयमा बेलबारी १ स्थित दिनेश खङको घरबाट हराएको को३५प ११९२ नम्बरको मोटरसाइकलसहित बेलबारी–३ बाट सुरज विकलाई प्रहरीले पक्राउ गरेको छ।
त्यस्तै, सुन्दरहरैंचा–४ खरीगुवास्थित बाबुराम कार्कीको घरबाट चोरी भएको को१३प १४१२ नम्बरको मोटरसाइकल बरामद भएको छ। चोरीमा संलग्न रहेको आशंकामा सुन्दरहरैंचा–४ बस्ने अमिर मोदी र उत्तम चौधरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजहरूले सुनसरीगढी–२ स्थित सत्यनारायण चौधरीको घरमा लुकाई राखेको अवस्थामा प्रहरीले  ती मोटरसाइकल बरामद गरेको हो। संलग्नहरूलाई म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
त्यस्तै, प्रहरीले मोरङको लेटाङस्थित प्रवर्धन राईको चोरी भएको को३३प ७५२५ नं. को मोटरसाइकल सुरज विकले चोरी गरी इलाम पु¥याएर बेचेको अवस्थामा इलामबाट बरामद भएको छ। चोरी गर्ने विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। त्यस्तै, बेवारिसे अवस्थामा मोटरसाइकल बरामद गरेको छ।
यसैबीच, मोरङ प्रहरीले विभिन्न मितिमा हराएका र खोजतलासीका लागि निवेदन परेका मोबाइलहरू आधुनिक प्रविधिको प्रयोगबाट खोजतलास तथा अनुसन्धान गर्ने क्रममा वीरगन्ज, रौतहट, सिन्धुली, धनकुटा, उदयपुर, झापा काँकडभिट्टा, सिरहा, सप्तरी, मोरङ, सुनसरीसमेतको इलाकाहरूबाट फेला पारी जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले सम्बन्धित धनीलाई बुझाएका छन्।

प्रतिक्रिया दिनुहोस्