सुकुम्बासी बस्तीमा १६ लाखको शिवालय



यमलाल भुसाल, बुटवल
मानिसमा ईच्छा भावना र मन हुने हो भने सामाजिक कामका लागि आर्थिकको समस्या हुँदैन भन्ने कुराको प्रमाणित गरिदिएका छन् रूपन्देहीको सुकुम्बासी बस्तीमा बसेका बासिन्दाले।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ भूपू सैनिकस्थित ५ नम्बर टोलका सुकुम्बासीले टोलमा १६ लाख लागतमा शिवालय मन्दिर बनाएर शिवरात्रिको उद्घाटनसमेत गरेका छन्। उक्त टोलमा करिब ३ सय घरपरिवार सुकुम्बासी रहेका छन्।
२०६८ सालमा सानो खरको छानो राखेर बनाएको शिवालय मन्दिर हाल पक्की र सुन्दर बनाइएको छ।
स्थानीय भिमसेन श्रेष्ठ (प्रेम) को सक्रियतामा शुरू गरिएको मन्दिर निर्माणका लागि शिव मन्दिर निर्माण समिति गठन गरेर काम गरिएको समितिका अध्यक्ष तोलाकान्त अधिकारीले बताउनुभयो।
मन्दिर निर्माणका लागि भिमसेन श्रेष्ठले १ लाख २५ हजार, महेन्द्रध्वज विष्टले १ लाख १ सय ५५, जनक कोइरालाले ५१ हजार १ सय ५१, तिलोत्तमा नगरपालिकाले ५० हजार, ओमबहादुर खाम्चाले २१ हजार ५ सय सहयोग प्रदान गर्र्नुभएको छ। त्यसैगरी, खोमबहादुर राना १५ हजार १ सय ५५, धनबहादुर मगर १० हजार १ सय ५५, तेजबहादुर कुँवर ५ हजार ५ सय ५५, गंगा मगर ५ हजार ५, कपिल कोइराला ५ हजार ५ र नारायणप्रसाद कोइरालाले ५ हजार १ सय सहयोग गर्नुभएको छ।
त्यस्तै, सरिता लम्सालले २२ हजार बराबरको मन्दिरको गजुर, कामधेनु शिव मन्दिरबाट शिवलिंग मन्दिरका लागि सहयोग प्राप्त भएको भिमसेन श्रेष्ठले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्