अध्यक्षकै मिलेमतोमा सामुदायिक वनको जग्गा अतिक्रमण



गोकुल घोरसाइने, बारा ।
निजगढ नगरपालिका–१० लालस्थित जनहित सामुदायिक वन समूहका अध्यक्षकै मिलेमतोमा वन क्षेत्रको जमिन कब्जा गरेर स्थानीय केहीले आवादी शुरु गरेका छन्।
बाढीपीडितको नाममा २५ वर्षअघि सट्टाभर्नामा जग्गा लिएर अर्को ठाउँमा गएकाहरुले अहिले फर्किएर पुनः वन क्षेत्रको जग्गा कब्जा गर्न थालेका हुन््।  अतिक्रमणकारीले वन क्षेत्रमा पर्ने १० हेक्टरभन्दा बढी जमिनमा घेराबारा गरेर धमाधम बाली लगाउने तयारी थालेका छन्।
वनका लाथ्रा काटेर किला खुट्टी गाढेका छन् भने ०५१ सालमा लाल खोलामा आएको बाढीले कटान गरेपछि सट्टाभर्ना लिएर लालगाउँकै पर्तिटोलमा बसोबास गर्दै आएकाहरुमध्ये केहीले आफ्नो नम्बरी आकडा दाबी गर्दै वन क्षेत्रको जमिनसमेत अतिक्रमण गरेका हुन्। नदी कटानमा परेपछि तत्कालिन रतनपुर गाविस कार्यालयले २२ घरधुरी परिवारलाई नजिकैको पर्तिटोलमा वन क्षेत्रको नर्सरी फँडानी गरेर बसोबास व्यवस्था मिलाएको थियो।
जनप्रतिनिधि र अगुवाको रोहबरमा पीडितलाई जंगल फँडानी गरी २/२ कठ्ठाको दरले सट्टाभर्नाको जमिन दिइएको स्थानीय वीरबहादुर जिम्बाले बताउनुभयो। ‘पीडितको नामावली तयार पारी जमिन बाँडिएको थियो, जिम्बाले भन्नुभयो, तर अहिले आएर आफ्नो नम्बरी भन्दै बिनानापजाँच जथाभावी जग्गा कब्जा गरेका छन्।’
उहाँले हाल आवादी शुरु भएको मध्ये धेरै जमिन आँकडाभन्दा बाहिर वन क्षेत्रमा पर्ने पनि सुनाउनुभयो। लाल क्षेत्रको ०२२ सालको सर्भेबाट करिब ८० बिगाहा जमिनको नापनक्सा गरी आँकडा तयार पारिएको थियो। बाढीले आँकडाभित्र पर्ने दक्षिणपश्चिमतर्फबाट केही र वन क्षेत्रको ठूलो भाग कटना गरेपछि सो क्षेत्र बगरमा परिणत भएको थियो। त्यति बेला सट्टाभर्ना पाएका मध्ये अधिकांशको बसोबास अहिले पनि पर्तिटोलमा नै छ।
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय परवानीपुरले ५ वर्षअघि लाल खोलामा पक्की तटबन्ध गरेपछि सो नदी उकासको जमिन आवादीका लागि सुरक्षित बनेको हो। काठमाडौं निजगढ द्रूतमार्ग नजिक पर्ने सो क्षेत्रको जमिनको मूल्य बढेपछि बाढीपीडितको नाममा अतिक्रमणकारी सक्रिय भएका हुन्। गाउँमा मोटरबाटो बनेपछि उक्त क्षेत्रको ऐलानी पर्ति जमिनसमेत प्रतिकठ्ठा १० लाखका दरले बिक्री हुन थालेको छ।
स्थानीयका अनुसार वन समूहका अध्यक्ष ज्ञानबहादुर मोक्तान र वडा नम्बर १० का वडा अध्यक्ष पद्मबहादुरको मिलेमतोमा वन अतिक्रमण भएको बताइएको छ। ‘गाउँका अगुवा र जिम्मेवार भनिएका मान्छेहरुकै  संरक्षणमा काम भइरहेको छ, एक स्थानीयले भने, अतिक्रमण कार्यमा जनप्रतिनिधि र समूहका अध्यक्षको छोरा-बुहारी र आफन्तहरु नै सक्रिय छन।’ उनीहरुले स्काभेटर र टेक्टर प्रयोगबाट जमिन सम्याउने र वनबाट काटेर ल्याएका लाथ्रा गाढेर साँध सिमाना लगाएर जमिन भाग लगाएका थिए।
वडा नम्बर १० का वडा अध्यक्ष पदमबहादुर मोक्तानले भने सरकारी नापी नक्साबाट आँकडा प्राप्त गरेका जग्गाधनीले साविकको आफ्नो जग्गामा हकभोग गर्न लागेकाले विरोध गर्नुपर्ने कारण नभएको बताउनुभयो। ‘आँकडा भएका मान्छेले आवादी गर्ने तयारी गरेका छन, उहाले भन्नुभयो, यस्मा विरोध गर्नुपर्ने कुनै कारण छैन।’ मोक्तानले कसको नाममा कति आँकडा प्राप्त जमिन छ भन्ने बारेमा भने आफूलाई जानकारी नभएको बताउनुभयो। ‘नापजाँच गर्ने काम मेरो होइन, उहाँले भन्नुभयो, सरकारले छानविन गरेर धनीको जमिन फिर्ता दिनुपर्छ।’
डिभिजन वन कार्यालय सिमराका प्रमुख मन्जुर अहमदले लाल क्षेत्रमा भैरहेको वन अतिक्रमणको अनुसन्धान गर्न रतनपुर सवडिभिजन कार्यालय प्रमुख शशीकान्त तिवारीलाई अख्तियारी दिएको र कारबाही अघि बढेको बताउनुभयो। ‘अतिक्रमणकारीको नाम, थर वतन पत्ता लगाएर ल्याउन भनेका छौं, उहाँले भन्नुभयो–  ‘निस्सा प्रमाणबिना वन क्षेत्र कब्जा गर्नेलाई त्यसै छोडिँदैन।’ उहाँले निजगढ नगरपालिकालाई पनि वन क्षेत्रको जमिन संरक्षणका लागि पहल गर्न पत्राचार गरेको पनि बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्