रामायण भवन निर्माणले साहित्यिक पर्यटक आकर्षित



मिला दरै, तनहुँ ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ शिखरकटेरीमा रामायण भवन निर्माण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयअन्तर्गत पर्यटन विभागको मातहत तथा भानु जन्मस्थल विकास समितिको सक्रियतामा भवन निर्माण सम्पन्न भएको भानु नगरपालिकाले जनाएको छ।
नेपाल भ्रमण वर्ष २०२० मा साहित्यिक पर्यटकलाई भानु जन्मस्थलमा आकर्षित गर्ने उद्देश्यअनुरुप तीव्र रुपमा भवन निर्माण पुरा गरिएको भानु नगरपालिकाका उपप्रमुख आशा थापाले जानकारी दिनुभयो।
‘नेपाल भ्रमण वर्ष २०२०मा गण्डकी प्रदेशमा भित्रिने साहित्यिक पर्यटकलाई भानु जन्मस्थलको प्रचार प्रचार गर्ने उद्देश्यले शिखर कटेरी निर्माण गरिएको हो,’ उहाँले भन्नुभयो। भवन निर्माण पुरा भएपनि भवनको भित्तामा रामायणमा भएका श्लोकहरु, रामायणसँग सम्बन्धित तस्विर कुद्ने काम बाँकी रहेको उहाँले बताउनुभयो।
करिब तीन करोड रुपियाँको अनुमानित लागतमा भवन निर्माणको काम अघि बढाइएको भानु जन्मस्थल विकास समितिका निर्वतमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो। रानाभाटका अनुसार रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ। सालको काठको प्रयोग गरी भवनको वार्ताली बनाइएको छ भने बाहिरी भागमा ढुङ्गा कुँदिएको छ।
रामायण भवनको निर्माणले भानु जन्मस्थललाई साहित्यिक तिर्थस्थलको रुपमा विकास गर्ने कार्यलाई टेवा पुग्ने अपेक्षा लिएको भानु नगरपालिकाका प्रमुख उदयराज गौली बताउनुभयो। उहाँका अनुसार पुरानो शैलीमा कलात्मक तवरबाट भवन निर्माण गरिएकोले साहित्यिक पर्यटकको आर्कषण बढ्ने विश्वास लिएको छ।
१० रोपनी क्षेत्रफलमा रामायण भवन, भानु गृह, आवास गृह, चमेना गृह, पुस्तकालय, शौचालय, पोखरीलगायतको गुरुयोजना तयार पारिएको नगर प्रमुख गौलीले जानकारी दिनुभयो। गुरुयोजनाअनुरुप भानु जन्मस्थलको विकास निर्माणका लागि १६ करोड अनुमानित लागत तय गरिएको नगरपालिकाले जनाएको छ।
उहाँका अनुसार पर्यटकलाई थप आर्कषित गर्न आदिकविको १०० फिट अग्लो शालिक निर्माण गर्ने दीर्घकालीन गुरुयोजना तय गरिएको छ। चुँदीरम्घावेशीदेखि शिखर कटेरीसम्म पुग्ने कच्ची मोटरमार्ग भएकोले आवातजावतमा सुविधा अभावको समस्या रहेकाले त्यस क्षेत्रको स्तरोन्नति हुन आवश्यक रहेको वडाध्यक्ष पूर्णबहादुर लौडारीभाट बताउनुभयो।
‘भानुभक्तको सम्मान र त्यस क्षेत्रको विकासका निम्ति पक्की सडक निर्माण गर्नुपर्छ,’ भाटले भन्नुभयो, ‘सडकको असुविधाले गर्दा हिउँदयाममा सवारीसाधन आवातजावात गर्न सकिदैन, वर्षायामको त कुरै गर्नुपर्दैन।’ निर्माण पुरा भइसकेकाले भवनको समय मिलाएर छिटै उद्घाटन तयारीमा रहेको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्