उपरथी हमाल फोर्स कमान्डरमा नियुक्त



दीपक रिजाल, काठमाडौं । 

संयुक्त राष्ट्रसंघको आह्वानमा सिरिया र इजरायलको सीमा क्षेत्रमा खटिने मिसन प्रमुखमा नेपाली सेनाका उपरथी ईश्वर हमाललाई राष्ट्रसंघले नियुक्त गरेको छ।

उहाँ हाल शिवपुरी स्टाफ कलेजमा कमान्डान्टका रूपमा कार्यरत रहनुभएको छ। राष्ट्रसंघ मुख्यालयले फोर्स कमान्डरका रूपमा छनोट गरेकाले कार्यकाल सम्हाल्न हमाल छिट्टै गोलानहाइट जानुहुने भएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले नै उपरथी हमाललाई फोर्स कमान्डरका रूपमा नियुक्त गरेको जानकारी गराउनुभएको थियो। फोर्स कमान्डरको उच्च जिम्मेवारी पाउने उहाँ छैटौं उच्च नेपाली सैनिक अधिकारी हुनुहुन्छ। राष्ट्रसंघको मर्यादामा फोर्स कमान्डरलाई सहायक उपमहासचिवसरह मानिन्छ। उपरथी हमालले एक वर्षका लागि उक्त नियुक्ति पाउनुभएको हो।

संयुक्त राष्ट्रसंघको नियमावलीअनुरूप अर्काे वर्षका लागि उहाँले पुनः नियुक्ति हुनुपर्नेछ। शान्ति सैनिक पठाउने सम्बन्धित मुलुकले निरन्तरता दिएमा, कमान्डरले इच्छा राखेमा र संयुक्त राष्ट्रसंघले चाहना गरेमा तीन वर्षसम्म फोर्स कमान्डरको जिम्मेवारीमा रहन सक्ने यसअघिको अवस्थाले देखाएको छ।

सोही ठाउँमा यसअघि पूर्वरथी बालानन्द शर्मा र हालका प्रधानसेनापति थापाले फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्नुभएको थियो। तत्कालीन नेपाली सेनाका उपरथीत्रय कृष्णनारायणसिंह प्रधान, भिक्ट्री राणा र पवनजंग पाण्डेले फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको थियो। फोर्स कमान्डर शान्ति सैनिक पठाउने मुलुकलाई उपलब्ध गराइने सबैभन्दा माथिल्लो दर्जा हो।

संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वरत मुलुकका ४३ शान्ति मिसनमा रही हालसम्म १ लाख २९ हजार ८ सय ९९ नेपाली सैनिकका सकल दर्जाले जिम्मेवारी सम्हालिसक्नुभएको छ।

सन् १९५८ देखि हालसम्म विश्व शान्ति स्थापनार्थ सहभागी हुँदा नेपाली सेनाका ६५ जनाले वीरगति प्राप्त गर्नुभएको छ भने ६६ गम्भीर घाइते हुनुभएको छ। हाल विश्वका १२ वटा शान्ति मिसनमा ५ हजार ९६ नेपाली सैनिक परिचालित छन्। त्यसमध्ये महिलाको संख्या १ सय ८१ छ।

प्रतिक्रिया दिनुहोस्