मेहनत ‘सिर्जना,उत्पादन र बस्तु मेरै नेपालको’ नारासहित बुटवलमा महोत्सव



यमलाल भुसाल,बुटवल ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तरगत गठित प्रदेश पाँचको महिला उद्यमी समितिले यहि फागुनमा पहिलो पटक व्यापार महोत्सव गर्ने भएको छ । घरेलु तथा साना उद्योगबाट उत्पादित बस्तुको प्रवद्र्धनकालागि यहि फागुनको २१ देखि चैत २ गतेसम्म ‘प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्योगिक कृषि प्रविधि व्यापार एवं पर्यटन महोत्सव–२०७६’ गर्न लागिएको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।

‘मेहनत सिर्जना, उत्पादन र बस्तु : मेरै नेपालको’ मुल नारा सहित बुटवलको देवीनगरमा सञ्चालन गरिने महोत्वसवमा ३ सय स्टल रहने तथा ५ लाख दर्शकले अवलोकन गर्ने र १ करोडको कारोवार हुने अपेक्षा गरिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति प्रदेश पाँचकी अध्यक्ष शान्ति तिमिल्सिना शर्माले बताउनु भयो ।

मेलामा प्रदेश पाँचका १२ जिल्लाका उदाहरणीय महिला उद्यमीका उत्पादनलाई निशुल्क स्टल व्यबस्था गरिने उहाँले बताउनु भयो । जसमा प्रत्येक जिल्लाबाट ५ जनाका दरले ६० स्टल निशुल्क राखिने छ ।

मेलामा कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानीय पर्यटकीय स्थलहरुको जानकारीमुलक प्रदर्शनी, महिला उद्यमीहरुद्वारा उत्पादित हस्तकलाका सामाग्रिको प्रदर्शनी, नविनतम प्रविधि एवं वैकल्पिक उर्जा लगायतको प्रदर्शनीलाई शिषेश प्राथमिकता राखिने उहाँले बताउनु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष ध्रुवकुमार धितालले स्वदेशी वस्तुको प्रवद्र्धनकालागि बिशेष प्राथमिकता दिईएको महोत्सवमा स्थानीय उत्पादनको दीगो बजारीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । कृषि, बन पैदावार, हस्तकला, उर्जा, बायोग्याँस र पर्यटन प्रवद्र्धनका स्टलहरुलाई मेलामा प्राथमिकता दिईने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्