काठमाडौं महानगरद्वारा सैनिक अस्पताललाई डेढ करोड सहयोग



न्युज अफ नेपाल, काठमाडौं ।

मृगौला रोगीको उपचारका लागि काठमाडौं महानगरपालिकाले बीरेन्द्र सैनिक अस्पताल छाउनीलाई १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

आज आयोजित कार्यक्रममा महानगरका मेयर बिद्यासुन्दर शाक्यले नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । सो सेवाका लागि गएको पुस २ गते महानगर र नेपाली सेनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

सम्झौता बमोजिम माघ ७ गतेबाट महानगरको शिफारिसमा हेमोडाईलासिस सेवा शुरु भइसकेको छ । यो सेवा लिनेमा वडा १५ डल्लुकी ६४ बर्षिया चन्द्र महर्जन पहिलो लाभग्राही हुनुहुन्छ । त्यसपछि वडा १५ स्वयम्भूकी ४७ बर्षिया सुवर्णमैयाँ ताम्राकार (स्थापित) र वडा २३ ओमबहालकी ७५ बर्षिया लक्ष्मी श्रेष्ठले हेमोडाइलासिस गराइरहनुभएको छ ।

रकम सेवा शुरुवात गर्नका लागि हो । यसपछि सेवा बिस्तार गर्न आवश्यक पूर्वाधार, मेसिन तथा उपकरण र जनशक्ति सम्बन्धि नेपाली सेनाले योजनासहितको खाका उपलब्ध गराएपछि कार्य प्रगतिका आधारमा महानगरले थप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ मेयर शाक्यको भनाई छ ।

‘शुरु भएको कार्यक्रमलाई निरन्तर बिस्तार गर्दै लगिने छ, जटिल खालको रोगका लागि बिशेषज्ञ उपचारका लागि महानगरले नेपाली सेनासँग सहकार्य गरेको हो उपचारका क्रममा आवश्यक पर्ने अन्य सेवा थप्दै लगिनेछ –उहाको भनाई थियो ।

कार्यक्रममा महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमा डंगोल, सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ, बीरेन्द्र सैनिक अस्पताल छाउनीका सहायक रथी नगेन्द्रकुमार केसी, महासेनानी डा.अजय राजभण्डारी, महानगरको जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रबिलास बज्राचार्य, बित्त बिभागका प्रमुख बुद्धरत्न मानन्धरलगायत अधिकारी सहभागी हुनुहुन्थ्यो ।

महानगरबासी र महानगरका कर्मचारीका लागि उपलब्ध हुने यो सेवा लिन काठमाडौ जिल्ला जनस्वास्थ्य कार्यालयबाट र महानगरको जनस्वास्थ्य विभागबाट सिफारिस हुनुपर्नेछ ।

सम्झौता बमोजिमको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलको सदस्यमा महानगरकातर्फबाट सहरी योजना आयोगका सदस्य गुजेश्वरी श्रेष्ठ सदस्य र जनस्वास्थ्य महाशाखाका निर्देशक नरेन्द्रबिलास बज्राचार्य सदस्यसचिव हुनुहुन्छ । त्यस्तै नेपाली सेनाकातर्फबाट बीरेन्द्र सैनिक अस्पताल छाउनीका निमित्त कमान्डान्ट सहायक रथी नगेन्द्रकुमार के. सी. र महासेनानी डा. अजय राजभण्डारी सदस्य हुनुहुन्छ । यो कार्यदलले सम्झौताबमोजिमका काम प्रभावकारी रुपमा गर्नरगराउन आवश्यक निर्णय गर्ने, अनुगमन गर्ने, निर्देशन दिने तथा दुबै पक्ष समक्ष नियमित प्रतिवेदन पेश गर्ने, कार्य प्रगतिको समीक्षा गर्ने र आवश्यक नीतिगत निर्णयको लागि सिफारिस गर्ने गर्नेछ ।

सम्झौताबमोजिम मृगौला बिरामीहरुका लागि हेमोडाईलासिस सेवासँगै बीरेन्द्र अस्पताल छाउनीबाट महानगरबासी जेष्ठ नागरिकका लागि ओ.पि.डि. सेवा, आपतकालीन स्वास्थ्य सेवा बढाउँदै लगिनेछ ।

प्रतिक्रिया दिनुहोस्