रेड पाण्डाको छालासहित ४ पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

दुर्लभ वन्यजन्तु रेडपाण्डा (हाब्रे) को छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–४ बालाजोरका ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङको धुँनिबेसी नगरपालिका–७ झाप्रेका ४० वर्षीय सुकबहादुर लामा, कास्कीको मादी गाउँपालिका–८ का ३७ वषीय युवराज सापकोटा र काठमाडौं बुढानिलकण्ठकी ४० वर्षीया कमला तामाङ छन् ।

रेड पाण्डाको छाला किनबेचन गर्न लागेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरेको हो । झोलाभित्र प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा छाला फेला परेको थियो ।

पक्राउ परेका उनीहरुलाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्