राजेश हमाल पक्राउ परेपछि पिएन क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी



न्युज अफ नेपाल, पोखरा ।

नेपाल विद्यार्थी संघका नेता राजेश हमाल (रेशम) पक्राउ परेपछि पृथ्वीनारायण क्याम्पसमा मंगलबारदेखि अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सोमबार विज्ञप्ती जारी गर्दै नेविसंघले क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी गरेको हो । तालबन्दीपछि क्याम्पसको माहोल तनावग्रस्त बनेको छ ।

नेविसंघको आन्दोलनमा प्रहरीले हसतक्षेप गरेपछि दुई समूहबीच ढु्ंगा हानाहान भइरहेको छ । लाठीचार्ज गरेपछि स्थिती तनावग्रस्त बनेको नेविसंघले आरोप लगाएको छ । प्रहरीको लाठीचार्जबाट नेविसंघ विज्ञान संकायका उपसभापति सुजन लामिछाने घाइते भएका छन् । घाइते लामिछानेलाई उपचारका लागि गण्डकी अस्पताल पुर्याइएको छ । नेता पक्राउको विरुद्धमा नेविसंघ क्याम्पस एकाइ समितिले सोमबार पनि महेन्द्रपुल र क्याम्पस गेट अगाडि टायर बालेर प्रदर्शन गरेको थियो ।

गत माघ ८ गते क्याम्पस परिसरभित्रै दुई विद्यार्थी संगठनबिच भएको झडपलाई लिएर स्ववियु उम्मेदवार समेत रहेका नेविसंघ नेता राजेश हमालसहित ८ जनाविरुद्ध किटानी जाहेरी परेको छ । उक्त झडपमा अनेरास्ववियुका दुई विद्यार्थी घाइते भएका थिए ।

सोही किटानी जाहेरीका आधारमा प्रहरीले सोमबार हमाललाई पक्राउ गरेको थियो । पक्राउ परेका हमालविरुद्ध तीन दिन म्याद थप भएको छ ।अनेरास्ववियु, क्याम्पस प्रमुख र प्रहरी प्रशासनको मिलेमतोमा आफ्ना नेताकार्यकर्तालाई पक्राउ गरिएको नेविसंघले आरोप लगाएको छ । नेविसंघल पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्