जीप कर्णालीमा खस्दा चालक बेपत्ता



कालिवहादुर मल्ल, कालिकोट ।

कर्णाली करिडोरमा जीप दुर्घटना भएको छ । जिल्लाको नरहरीनाथ गाउँपालिका १ जिते बजारको पुल पारी कर्णाली करिडोरमा मंगलबार बिहान १० बजेतिर दुर्घटना हुँदा जीप कर्णाली नदीमा खसेको छ । १ च ४१४१ नम्बरको जीप कर्णालीमा खस्दा चालक बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीका अनुसार कर्णाली करिडोरमा संचालन हुने उक्त जीप जिते बजारको पुल पारी यात्रुलाई झारेर फर्किने क्रममा दुर्घटना भएको हो।

प्रहरीका अनुसार जीप चालक दैलेखको गुराश गाउँपालिका ४ का चक्रबहादुर खड्का बेपत्ता भएका हुन् । उनको खोजी भइरहेको छ । कर्णाली करिडारको जीरो पोइन्टबाट यात्रु झारेर मोड्ने क्रममा दुर्घटना भएको हो।

जीप नदीबाट निकाल्ने काम भइरहेको छ । उक्त जीप कर्णाली करिडोरअन्तर्गत पचालझरना गाउँपालिका केन्द्र जारकोटबाट यात्रु ल्याएर लालिघाट छोडेर फर्किँदै थियो।

प्रतिक्रिया दिनुहोस्