हिजोआजका कुराको गीतमा कलाकारको बाढी



ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता सन्तोष पन्तको लोकप्रिय हास्य कार्यक्रम हिजो आजका कुराको शीर्षक सापटी लिएर उनकै पुत्र साकार पन्तद्वारा निर्माणाधीन फिल्म हिजोआजका कुराको माया जदौ बोलको गीत सोमबार सार्वजनिक गरिएको छ।

साकारको डेब्यु निर्देशनमा अभिनेता सन्तोष पन्तको प्रस्तुति रहेको फिल्मको सो गीत रामकृष्ण ढकाल र मेलिना राईले गाएका छन्। आनन्द अधिकारीको शब्द र दीपक शर्माको संगीत रहेको गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।

भिडियोमा मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, नीर शाह, शम्भुजीत बास्कोटा, भुवन चन्द, बसुन्धरा भुसाल, मिथिला शर्मा, गौरी मल्ल, धीरेन शाक्य, रमा थपलिया, दिनेश डिसी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, जयनन्द लामा, शिवहरि पौडेल, केकी अधिकारी, ऋचा शर्मा, साकार पन्त, रिमा विश्वकर्मा, जेविका कार्की, नवीन के भट्टराई, नितेशजंग कुँवर, नम्रता श्रेष्ठ, यमन श्रेष्ठ, रमेश अधिकारी, सविन शाक्य, मन्जु श्रेष्ठ, विनय कुईंकेल, अनुष्का अधिकारी, लुनिभा तुलाधरलगायतका कलाकारलाई प्रस्तुत गरिएको छ। नेपाली फिल्मको गीतमा यति धेरै सेलिब्रेटीलाई एकसाथ समेटिएको यो नै पहिलो हो।

वैशाख १२ गते प्रदर्शन हुने कमेडी जनराको फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, लक्ष्मी भुसाल, केकी अधिकारी, ऋचा शर्मा, दिव्यदेव पन्त, रिमा वि श्वकर्मा,जयनन्द लामा, जेविका कार्की, रमेश अधिकारी, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्यलगायतका कलाकारले अभिनय गरेका छन्।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्माणाधीन फिल्मको कार्यकारी निर्मातामा प्रतिभा पन्त, सहनिर्माता बैकुण्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र रहेका छन्। रवि सायमीले खिचेको फिल्मको कथा सन्तोष पन्तको हो भने सन्दीप किस्नाको पटकथा रहेको छ।

प्रतिक्रिया दिनुहोस्