बन्ने भयो परदेशीको सिक्वेल



गोर्खापल्टन र परदेशीजस्ता दुई सफल फिल्मका लेखक तथा निर्देशक नारायण रायमाझीले तेस्रो फिल्मस्वरूप परदेशीको सिक्वेलस्वरूप परदेशी– २ निर्देशन गर्ने भएका छन्।

फिल्मको हालै प्रमुख कलाकारको उपस्थितिमा वैदिक विधिअनुसार ललितपुरको कार्यविनायक मन्दिरमा पूजाअर्चना गरी शुभमुहूर्त गरिएको छ। विनायक मन्दिरमा पूजा सम्पन्न भएलगत्तै दक्षिणकाली मन्दिरमा समेत पूजा गरी यसको निर्माण कार्य शुरू गरिएको हो। परदेशी– २ मुभिज डटकमको ब्यानरमा निर्माण हुने चौथो फिल्म हो। यसअघि यस ब्यानरबाट कोही मेरो, गोर्खा पल्टन र परदेशी निर्माण भइसकेका छन्।

परदेशी निर्माण गरिसकेपछि परदेशका अरू धेरै कथा व्यथा समेट्न पाए हुन्थ्यो भन्ने मनमा छटपटी भइरहेकाले परदेशी–२ यस्तै धेरै कथामध्येको एक कथामा निर्माण गर्न लागिएको निर्देशक नारायण रायमाझीले जानकारी गराए। ‘परदेशी–२ नेपाली गाउँवस्ती रित्तिएको कथा हो। नेपाली समाजमा बढ्दो परदेश मोहको कथा हो। सुनौलो भविष्यको सपना बोकेर परदेशिएका तमाम नेपाली युवा र उनीहरूको संघर्षमय जीवनको कथा हो।

बाध्यता या रहरले विदेशिएका युवा र तिनका अभिभावकले देखेको मीठो सपना अनि वास्तविक भोगाइ र कठिनाइहरूको यथार्थ कथा हो। अनि मातृभूमिबाट टाढा गएपछि आफ्नो परिवार, समाज, उकालीओराली र सि·ो देशको यादले सताएको कथा हो’ निर्देशक रायमाझी भन्छन्। ‘परदेशी–२, के गाउँ के शहर घरघरको कथा हो।

परदेशले नेपालीलाई सुख र समृद्धि मात्र दिएको छैन, त्यसभित्र पनि अनेक प्रकारका पीडाहरू छन्। यही सुखदुःख, सफलता असफलता र त्यससँग जोडिएको उतारचढावको कथा नै परदेशी–२ हो। स्क्रिप्टमा नारायण दाइले ५ वर्ष मेहेनत गर्नुभएको छ। ‘गोर्खा पल्टन र परदेशीजस्तै यो फिल्मले पनि दर्शकको अपार माया पाउनेछ भन्ने कुरामा म विश्वस्त छु’ –निर्माता राजेश वंशल भन्छन्।

फिल्ममा राजेश वंशल र नारायण रायमाझी निर्माताको रूपमा रहनेछन् भने प्रशान्त तामाङ, प्रकाश सपुत, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाहलगायतका कलाकारको प्रमुख भूमिका रहनेछ।

गीतकार रमेश बिजीको कथा तथा नारायण रायमाझी र रमेश बिजीको पटकथा र संवाद रहेको फिल्ममा रमेश पौडेल, सतिश चापागाईं, बीबी अनुरागी, नारायण रायमाझी, जय देवकोटा र प्रेमदेव गिरीका शब्द तथा बीबी अनुरागी र नारायण रायमाझीको संगित रहनेछ भने प्रशान्त तामाङ, मिना निरौला, निशान भट्टराई, प्रताप दाश, नारायण रायमाझी, टीका पुन, देवी घर्ती, शान्तिश्री परियार र जय देवकोटाले स्वर दिनेछन्।

फिल्ममा गोविन्द राई, रामजी लामिछाने र कुलमान नेपालीले नृत्य निर्देशन र अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्नेछन् भने मानकृष्ण महर्जनले छायांकन गर्नेछन्। पोखरा, पाल्पा, काठमाडांै, भारतको गोरखपुर र अमेरिकामा छायांकन हुने फिल्मको २ महिनामा सम्पूर्ण छायांकन सकिने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्